काठमाडौं । अमेरिका-चीन दुवैले जेनेभामा जारी व्यापार वार्तामा प्रगति भइरहेको‚ उपयोगी र रचनात्मक रहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले वार्ता ‘उपयोगी र रचनात्मक’ बताए भने चिनियाँ उपप्रधानमन्त्री ह लिफङले ‘गम्भीर र प्रष्ट’ वार्ता भएको बताएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
दुवैले वार्ताबारे विस्तृत जानकारी दिएनन् । आज नै दुवैले दुई दिन भएको वार्ताबारे संयुक्त विज्ञप्ति जारी गर्ने जनाइएको छ ।
चिनियाँ टोलीले वार्तामा ‘महत्त्वपूर्ण सहमति’ भएको र अर्को चरणको वार्ता गर्ने सहमति भएको बताएको छ । दुवै पक्षले वार्तामा उल्लेखनीय प्रगति भएको बताए पनि दुवैले एकअर्काबाट हुने आयातमा कर घटाइएको कुनै जानकारी दिएनन् ।
आ-आफ्ना देशको वार्ता टोलीको नेतृत्त्व गरिरहेका बेसन्ट र लिफङ दुई दिन दुवै देशको व्यापारमा उत्पन्न कर-अवरोधमाथि छलफलमा व्यस्त रहेका थिए ।