बैंक शब्दसित परिचित हुन थालेको जगत्ले करीब ४ सय १६ वर्षको कालखण्डपछि हालै मात्र यसको प्रयोग नितान्त नयाँ क्षेत्रमा पनि अनुभूत गर्न थालेको छ । त्यो होः शिक्षक बैंक । झट्ट सुन्दा यो शिक्षकहरूका लागि नयाँ बैंक पो खोलिन लागेको हो कि ? भन्ने लाग्छ । तर, त्यसो होइन रहेछ । हालै मात्र सरकारको नीति तथा कार्यक्रममा यो शब्दको नयाँ खेती गरिएको देखियो । बुझ्दै जाँदा पठनपाठन हुने संस्थाहरू जस्तैः विश्वविद्यालय, कलेज आदिमा शिक्षकको आवश्यक पर्दा यस्ता बैंकरूपी संस्थाबाट आपूर्ति वा भरण गरी तत्काल पठनपाठन गर्ने एउटा उपायको खोजी भन्ने रहेछ । यस लेखकका विचारमा यो शिक्षकहरूको रोस्टर (सूचीकरण) बाहेक अरू केही होइन । स्थायी शिक्षक भर्ना गर्दा समय लाग्ने वा खर्च लाग्ने भएबाट त्यसको छिटो छरितोपनाका लागि यस किसिमको बैंकको अवधारणा ल्याएको भनेर यो क्षेत्रका विज्ञहरू बताउँछन् । मूल अभीष्ट वा आन्तर्य जे होस् त्यतापट्टि जाने यो लेखको अभीष्ट होइनः बैंक शब्दको जथाभावी प्रयोगले आम नागरिक अलमलिने हुन् कि ? वा बैंक शब्द प्रयोगलाई खेलाची पो गरिन थालिएको हो कि ? भन्ने मात्र आशय हो ।
केही समयपहिले पश्चिम नेपालकै कुनै शहरमा कपडा बैंकको समाचार पढिएको हो । विदेशतिर पुराना कपडाहरू संकलन गरेर विपन्न र निर्धनहरूका लागि वितरण गर्ने कुनै दान कार्यका लागि होस् वा संकलित ती कपडा कुनै थ्रिप्ट पसलहरूमा सस्तोमा बेचेर त्यसबाट आर्जित रकम कुनै च्यारिटी कार्यमै उपयोग गर्ने प्रचलन र त्यसका लागि विभिन्न च्यारिटी संस्था अस्तित्वमा आएका देखिन्छन् । त्यसका लागि शहरको चोकचोकतिर स्थायी रूपले बनाइएका संकलन भाडाहरू राखिएका पाइन्छन् । मैले यस्तो कर्म अमेरिकाको क्यानसस सिटीमा सन् २०१२ मा गएका बेला देखेको थिएँ । मैले पनि प्रयोग गरिएका थुप्रै कपडा त्यस्ता भाडोहरूमा राखिदिएको थिएँ । सम्भवतः पश्चिम नेपालको कुनै शहरमा त्यही कार्यको सिको भएको होला । नराम्रो होइन, त्यस्तो कार्य । तर, तिनले प्रयोग गरेका शब्दः कपडा बैंक पनि त्यस कार्यका लागि सही प्रयोग भने होइन । त्यहाँ पुराना कपडा संकलन केन्द्र वा भण्डारणजस्तै अर्थ लाग्ने शब्द, वाक्यांश प्रयोग गर्न सकिन्थ्यो ।
- पुराना कपडा संकलन गरेर आवश्यक व्यक्तिले लैजाने व्यवस्थाका लागि कपडा बैंक शब्द सही प्रयोग होइन ।
- कुनै बेला धान चामल विक्रीका लागि खोलिएका कम्पनीले खाद्य बैंकको अवधारणा पनि ल्याएकै हो ।
- कुनै बेलाको ब्लड बैंक रक्त सञ्चार केन्द्रमा परिणत भएको देखिन्छ । यो सही शब्द प्रयोग हो ।
- थापाथलीस्थित प्रसूति गृहले सुत्केरी आमाहरूको दूध संकलन गरेर सुत्केरी अवस्थाकै दूध नआएका अवस्थाका आमाहरूका नवजातहरूलाई दूध खुवाउन ब्रेस्ट फिड बैंक सञ्चालन गरेको थियो ।
ब्लड बैंक हामीबीच निकै अघिदेखि प्रचलनमा रहेको शब्द हो । नेपाल रेडक्रसले रक्त संकलन गरी रगतको अभाव भएकाहरूलाई संकलित रगत बेच्ने वा रिप्लेस गर्ने कर्म गर्दै आएको धेरै अगाडिदेखि नै हो । कुनै बेला रगत बेच्नेहरू (खासगरेर ज्याला मजदूरी गर्नेहरू) वीर अस्पताल छेवैमा रहेको ऊ बेलाको ब्लड बैंकअगाडि लाइन लागेर बसेको त यो लेखकले पनि देखेकै हो, ५० वर्षअघि । अचेल त्यस्तो त देखिँदैन । रगत विक्रीका लागि होइन, यो दान र पुण्यकर्म नै हो भनी रक्तदानका अभियानहरू नै सञ्चालनमा देखिन्छन् । रगत चाहिनेहरूलाई भरसक रिप्लेस गरेर मात्र (पहिले रगत दान गरेर मात्र रगतको पूरण उपलब्ध हुने परिपाटी) रगत वितरण गर्ने प्रचलन चलाएको होला । यसैले अचेल यस्तो कर्मका लागि कुनै बेलाको ब्लड बैंक रक्त सञ्चार केन्द्रमा परिणत भएको देखिन्छ । यो सही शब्द प्रयोग हो । प्रयोगमा जनजिब्रोले पचाउन केही समय लाग्छ, स्वाभाविकै हो ।
कुनै बेला धान चामल विक्रीका लागि खोलिएका कम्पनीले खाद्य बैंकको अवधारणा पनि ल्याएकै हो । अचेल त्यो छ छैन उस्तो चर्चा हुँदैन । तर, वर्षभरि नै खाद्यान्न अभाव हुन नदिन र अनिकालका लागि खाद्य सुरक्षण गर्न भनेर अनेकौं स्कीम आएका हुन्छन् । पुरानो चलनअनुसार धन्सार, भकारीको अवधारणा यो लेखकले बाल्यकालमा आफ्नै गाउँमा देखेकै हो । मङ्सिरमा प्रत्येक घरबाट केही पाथी धान संकलन गरी एउटा ढुकुटीमा सुरक्षित भण्डारण गरेर राख्ने अनि अनिकालका बेला त्यो बीउलगायत आपत्कालीन अवस्थामा प्रयोग गर्ने पुरानो चलन मेरो गाउँमा देखेकै हो । त्यसलाई धन्सार भनिन्थ्यो । त्यस्तो धन्सारको जिम्मा लिएर बस्ने हाम्रा पुर्खाका एक सन्तानलाई धन्सारे खाल भनेर चिनाउने चलन अद्यापि छ । अचेल त्यस्तो चलन छैन तर यस खाले प्राचीन चलनका पाठलाई अहिले खाद्य बैंक भन्नेहरूले सिक्नुपर्ने चाहिँ हो । खाद्यान्न भण्डारण भनेको बैंकको अर्थमा लिनु उचित होइन ।
धेरै कमलाई मात्र जानकारी होला सिमेन बैंकको बारेमा । यो भेटेरेनरी साइन्समा देखिन्छ । नेपालमा पनि धेरै अगाडिदेखि यस्तो सिमेन बैंक रहेछ । पशु चिकित्सालयअन्तर्गत यसको व्यवस्थापन गरिँदो हो । धापाखेलमा रहेको इसिमोडको कार्यालयछेउ भएर डुल्ने घुम्नेहरूले शायद यसको एउटा सानो बोर्ड देखेको हुनुपर्छ । यो भनेको वीर्य बैंक हो । गाईवस्तुहरूमा कृत्रिम गर्भधारण कार्यमा यस्ता सिमेनको प्रयोग हुने गर्दो रहेछ । शायद यो निर्यात वा आयात पनि होला । अब यो पनि बैंक नभएर सुरक्षित भण्डारण नै हो । यहाँ पनि बैंक शब्दको जानेर वा नजानेरै दुरुपयोग भएको हो कि भन्ने देखिन्छ ।
केही समयअगाडि थापाथलीस्थित प्रसूति गृहले सुत्केरी आमाहरूको खेर जाने र बढी भएको दूध संकलन गरेर सुत्केरी अवस्थाकै दूध नआएका अवस्थाका आमाहरूका नवजातहरूलाई दूध खुवाउने पवित्र अभीष्टले ब्रेस्ट फिड बैंक शब्दकै प्रयोग गरेको समाचार आएकै हो । यहाँ पनि बैंक शब्दको अर्थ गलत रूपले गरिएको देखियो । यो पनि एक सुरक्षित भण्डारण नै हो । यसलाई शिशु दूध आहार केन्द्र वा भण्डारण भनिएको भए पनि हुन्थ्यो ।
कुनै बेला देशीय बेरोजगारहरूलाई रोजगारीको सूचना दिने वा चाँजोपाँजो मिलाउनेहरूले रोजगार बैंक पनि खोलेकै हुन् । तिनले प्रत्येक बेरोजगारसित फारम भरेबापतको उल्लेख्यै रकम कुम्ल्याएका पनि हुनन् । यसैगरी पूर्वराजा ज्ञानेन्द्रले भूमि बैंकको घोषणा गरेकै थिए । तर, त्यो बैंक कहिल्यै सफल भएन । पछि वामपन्थीहरूको एकमना सरकारका बेलामा पनि पूर्वराजाको भन्दा पनि क्रान्तिकारी अर्को भूमि बैंकको अवधारणा आएकै हो । त्यो पनि उनीहरूको सत्ता बहिर्गमनसितै सती गएको देखियो । पूर्वराजाका पालाको भूमि बैंकमा त केन्द्रीय बैंकका सेवानिवृत्त हुनै लागेका कुनै उच्च पदाधिकारीले त्यसको सम्भावित अध्यक्षको दाबीसमेत गर्दै हिँडेको यो लेखकका कानमा पनि परेकै हो । न त्यो बैंक नै खुल्यो, न तिनी त्यसको अध्यक्ष नै बने । बरु देशबाट राजतन्त्र नै फालियो ।
अहिले शिक्षक बैंकको अवधारणा सरकारले नै अगाडि सारेको देखियो । यहाँ पनि बैंक शब्दकै परिहास भएको छ । यो रोस्टरबाहेक अरूथोक होइन । अब यस्तै हो भने केन्द्रीय बैंकले (कानूनमा त्यो छ पनि कतै उल्लेख भएको) बैंक शब्दको सही र समुचित प्रयोग हुने स्थान, त्यसको क्षेत्राधिकार पनि तोक्नुपर्ने बेला आएको हो कि ? होइन भने त किताबहरूको भण्डारण भएको स्थान जहाँ अध्ययन अनुसन्धानका लागि पुस्तकहरू केही समयलाई वा त्यहीँ बसेर अध्ययन गर्न पाइन्छ । त्यसलाई पुस्तकालय ( कति राम्रो छ यो शब्द) नभनेर पुस्तक बैंक भनिदिए भयो । जग्गाहरूको प्लटिङ गरेर खरीद विक्री गर्ने दलाली प्रथालाई पनि प्लटिङ वा घडेरी बैंक भनिदिए भयो, फूलहरूको व्यापार गर्नका लागि राखिएको भण्डार कार्यलाई फ्लावर बैंक भनिदिए भयो । सुनको व्यापार गर्ने थलोलाई गोल्ड बैंक भने भयो । सबैभन्दा राम्रो त अचेल गरिने शेयर खरीद विक्रीको धितोपत्र कारोबारलाई स्टक बैंक भनिदिए पनि हुन्छ । कृषि मन्त्रालयमा सीड बैंक (बालीनालीका लागि आवश्यक पर्ने बीउबिजनका लागि) त कार्यरूपमै छ । कुनै बेला सञ्चार मन्त्रालयले हुलाक बैंक वा हुलाक बचत बैंक पनि चलाएकै हो । योजना आयोगले त हालसालै प्रोजेक्ट बैंक भनेर खुबै हल्ला पिटेकै पनि हो ।
बैंक शब्दले वा बैंकिङ कारोबारले आम जनमानसमा रुपैयाँ पैसाकै लेनदेन र कारोबार गर्ने वित्तीय मध्यस्तताको कार्यलाई नै जनाउँछ । हामी सबैले जानी आएको, पढेर बुझेको पनि यही हो । बचतका रूपमा नागरिक वा संघसंस्थाका बचत जम्मा हुने र आवश्यक पर्नेका लागि कुनै बन्दव्यापार कृषि, उद्यम आदिमा कर्जा प्रवाह गर्ने लगानी गर्ने कार्यलाई नै बैंकिङ भनेर सर्वसाधारणले बुभ्mदै आएको हो । यो कार्य वा बैंक शब्दको पहिलो उल्लेखन, को विधिवत थालनी भने सन् १६०९ को बैंक अफ एम्सटरड्यामको स्थापनासित भएको मानिन्छ । त्यो बेला यो बैंकले केन्द्रीय बैंकको पनि कार्य गर्थ्यो । हुन त बैंककै कारोबारको आदिरूप भने ईशापूर्व २ हजार वर्षपहिलेको मेसोपोटामियाका मन्दिरहरूमा गरिने केही मूल्यवान् वस्तुहरू र खाद्यान्नको लेनदेन कार्य जसमा मन्दिरका पुजारीहरूलाई जिम्मेवार बनाइन्थ्यो, सम्म पुग्न सकिन्छ । विधिवत् बैंक शब्द र त्यसको क्षेत्राधिकारी प्रयोगका उन्नतशील उपयोग हुनथालेको इतिहास भने करीब ४ सय १५ वर्षदेखिको हो । बीसौं शताब्दीको मध्यदेखि त ४ सय वर्षअघिको परम्परागत बैंकिङ मोडालिटिज र अस्त्रहरूमै कायापलट किसिमकै परिवर्तन आएका छन्, नेपालमै पनि । नेपालमा विधिवत् बैंक शब्दको इतिहास विसं १९९४ साल ( नेपाल बैंक कानून १९९३ साल) देखि शुरू भएको हो, नेपाल बैंक लिमिटेडको स्थापनासितै । बचत निक्षेपका रूपमा राखिने डिपोजिट र त्यही बचत आवश्यक पर्नेहरूका लागि कर्जा वा लगानीका रूपमा लगानी गर्ने परिपाटी नै सबैले बुझिआएको बैंक शब्दको अर्थ सोपान हो । बैंक शब्दले यस्तै बैंकिङ कारोबारकेन्द्री उपयोग र उपभोगलाई लिनु उचित हुन्छ । चार सय वर्षभन्दा बढी समयदेखि विकसित हुँदै आएको बैंक शब्दले हामीबीच एकखाले संस्कार, इतिहास र कार्य क्षेत्र बनाइसकेको हुँदा यसको लहडबाजी प्रयोग कबै उचित होइन । यसैले लहडबाजी प्रयोगमा हुने बैंक शब्दको दुरुपयोग र लत्ताकपडा, रगत, खाद्यान्न, बीउबिजन, शिक्षणजस्ता क्षेत्रमा पनि बैंक शब्दको प्रयोगका औचित्य पुष्टि हुने देखिँदैन, रोक्नु बुद्धिमानी हुन्छ ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।