नेपालमा धानलाई प्रमुख खाद्यान्नको रूपमा लिइन्छ । हाम्रो परम्परागत खानामा अन्नको रूपमा विविधता हुने गर्दथ्यो । जस्तो कि मकै, कोदो, गहुँ, फापर आदिका परिकारहरू स्थान विशेष र मौसमअनुसारको खाना हुन्थ्यो । तर पछि आएर भातमा बढी निर्भरता रहेको र यतिसम्म कि नेपालीको खाना दाल, भात र तरकारी भन्ने नयाँ भनाइ चलनमा आयो । अब त भातमा यति आश्रित हुन पुगियो कि भात खान स्वास्थ्यले दिँदैन भनेपछि मात्र उल्लिखित परम्परागत अन्नहरूको खोजी हुन थाल्यो र खास गरी शारीरिक श्रम नगर्नेहरूका बीचमा यस्तो हुने गरेको छ । अर्कोतर्फ फेरि नेपालमा भोकमरीको भन्दा पनि भातमरीको समस्या छ भन्ने उखान नै प्रचलनमा आउन थालिसकेको छ किनकि चामलको उत्पादन नहुने क्षेत्रमा खाने गरेका खानाहरू त्यागेर सम्पन्नताको पर्यायझैं भातै खाने चलन चल्न थालेको छ । नेपालीहरूको भाते बानी नबदलिने हो भने यो समस्या जहाँको तहीँ रहने देखिन्छ ।
विगतमा चामल निर्यात गर्ने देश नेपालमा वर्षेनि ठूलो धनराशी खर्च भएर धान तथा यसका उत्पादन चामललगायत खाद्यवस्तु आयातमा खर्च हुने गरेको छ । धानखेती हुने समतल जमीनमा प्लटिङ हुने र बसाइसराइँ र शहरीकरणले पनि धानखेती हुने क्षेत्र क्रमशः खुम्चिँदै गएको छ । विगत ५ वर्षमा नेपालमा कति मूल्य र परिमाणमा धान तथा चामलको आयात भएछ भन्सार विभागको आयात तथ्याङ्कलाई आधार मानी यहाँ विश्लेषण गर्न खोजिएको छ ।
धान तथा यसका उत्पादनअन्तर्गत यस लेखमा धान (धानको बीउ समेत), राम्रोसँग नफलेको चामल (जसलाई बोलिचालीमा ब्राउन राइस भन्ने गरिन्छ), पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलका सबै प्रकार यसमा समावेश गरिएको छ ।
चामल
खाद्यान्न बाली धानको सबैभन्दा बढी आयात हुने रूप चामल हो । पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलका रूप जुन सबैभन्दा बढी तथा आमरूपमा उपभोग गरिनेमा पर्छ । त्यसैले यो रूप नै सबैभन्दा बढी आयात हुनेमा पर्छ । केही मात्रामा ब्राउन राइस र कनिका पनि आयात हुने गर्छ ।
आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ११ हजार मेट्रिक टन चामल आयात भएको थियो जसको मूल्य करीब रू. २२ अर्ब २४ करोड बराबरको थियो । आव २०७७÷७८ मा ५ लाख ४७ हजार मेट्रिक टन चामल आयात भएको थियो र आयात मूल्य करीब रू. २७ अर्ब ६३ करोड रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा परिमाणमा २४ प्रतिशत र मूल्यमा करीब ३३ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८।७९ मा आयात परिमाण घटेको देखिन्छ । उक्त वर्ष परिमाणमा करीब ३ प्रतिशतले घटी ५ लाख २८ हजार मेट्रिक टन चामल आयात भएको थियो र मूल्यमा करीब ५ प्रतिशतले वृद्धि भई रू २९ अर्ब ५ करोड मूल्यको आयात भएको थियो । आव २०७९/८० मा आयातमा निकै गिरावट आयो । वृद्धिदर ऋणात्मक नै देखियो । अघिल्लो वर्षको तुलनामा परिमाणमा ५७ प्रतिशतले घटेर केवल २ लाख २५ हजार मेट्रिक टन चामल आयात भएको थियो र मूल्यमा करीब ४६ प्रतिशतले घटी रू. १५ अर्ब ६३ करोड मूल्यको आयात भएको थियो । आव २०८०/८१ पनि आयात घट्ने क्रम जारी रह्यो । अघिल्लो वर्षको तुलनामा परिमाणमा ६१ प्रतिशतले घटेर केवल ८९ हजार मेट्रिक टन चामल आयात भएको थियो र मूल्यमा करीब ४१ प्रतिशतले घटी रू ९ अर्ब २९ करोड मूल्यको आयात भएको थियो । चालू आवको प्रथम ११ महिनामा करीब १७ अर्ब ५० करोड रुपैयाँको २ लाख २३ हजार मेट्रिक टन चामल आयात भैसकेको छ । यहाँ आयातमा पुनः वृद्धि भएको देखिन्छ ।
धान
आर्थिक वर्ष २०७६/७७ मा रू १० अर्ब ४८ करोड प्रचलित मूल्य बराबरको ३ लाख ४८ हजार मेट्रिक टन आयात भएकोमा आव २०७७/७८ मा आइपुग्दा रू २० अर्ब ५५ करोडको ६ लाख ९८ हजार मेट्रिक टन अर्थात करीब दोब्बर मात्रामा धान आयात भएको थियो । आव २०७८/७९ मा आयातमा केही कमी देखिए पनि आव २०७९/८० मा पुनः वृद्धि भई २० अर्ब ७५ करोडको रूपैयाँको आयात भयो तर परिणाम भने ५ लाख ५८ हजार मेट्रिक टन आयात भयो । यस अवधिमा आयात मूल्य बढी देखिनुले तुलनात्मक रूपमा महँगो धान आयात भएको जनाउँछ । गत आव २०८०/८१ मा १२ अर्ब ९४ करोड रूपैयाँ मूल्यको ३ लाख २१ हजार मेट्रिक टन धान आयात भयो । चालु आवको प्रथम ११ महिनामा २१ अर्ब १६ करोड रूपैयाँको ५ लाख २४ हजार मेट्रिक टन धान आयात भैसकेको छ ।
धान दिवसलाई सार्थक बनाउन आयात प्रतिस्थापन तर्फ नलागी हुँदैन । वर्षैपिच्छे धान दिवस मनाउँदै विदेशबाट आयातित चामलको परिकार खाइरहँदा धानदिवस नै व्यंग्य र हास्यास्पद जस्तो लाग्न थालेको छ ।
लेखक तथ्याङ्कशास्त्री एवं भन्सार विभागका कर्मचारी हुन् ।