नेपालको पर्यटकीय इतिहासको पानामा जब हामी फर्केर हेर्छौं, त्यहाँ पदयात्रा अर्थात् ट्रेकिङ एउटा महत्त्वपूर्ण अध्यायका रूपमा देखा पर्छ । विशेषगरी सन् १९५० को दशकबाट नेपालमा पदयात्राको आरम्भ भयो भने प्रारम्भिक पदयात्रा क्याम्पिङ ट्रेककै रूपमा शुरू भएको थियो । तर, पछिल्ला २ दशकमा सुविधा सम्पन्न होटेलहरूको बाढीसँगै क्याम्पिङ ट्रेक लगभग हराउन लागेको छ । यद्यपि, अन्नपूर्ण नर्थ बेस क्याम्पसम्म हालै गरिएको एउटा ऐतिहासिक क्याम्पिङ ट्रेकले फेरि यसको पुनर्जागरणको संकेत दिएको छ । जसरी अहिले क्याम्पिङ ट्रेक हराएको छ विस्तारै पदयात्राप्रतिको विशेष आकर्षण पनि कम नहोला भन्न सकिँदैन । यसो हुनुमा अरू होइन, नेपाल आफै दोषी छ । सही र दीर्घकालीन सोचका साथ काम नगर्दा यस्तो समस्या आएको देखिन्छ ।
- राज्य, निजीक्षेत्र र स्थानीय समुदाय मिलेर अगाडि बढे भने क्याम्पिङ ट्रेक फेरि पनि नेपालको पर्यटनको गौरव बन्न सक्छ ।
- क्याम्पिङ ट्रेक भनेको केवल हिमाल हेर्ने यात्रा होइन, त्यो प्रकृतिसँग साक्षात्कारको अवसर हो ।
नेपालमा पदयात्राको आधारशिला राख्ने कार्य बेलायती सेनाका कर्णेल जिम्मी रोबर्टले सन् १९६५ मा गरेका थिए । उनले स्थापना गरेको माउन्टेन ट्राभल नामक कम्पनीबाटै व्यवस्थित क्याम्पिङ ट्रेकको शुरुआत भयो । त्यो बेला ट्रेकिङ जाने पर्यटक गोठ, खर्कमा बास बसेर स्थानीय जीवनशैलीसँग नजिक भएर यात्राको आनन्द लिन्थे जसले गर्दा स्थानीयले समेत आम्दानी गर्ने अवसर पाउँथे । पर्यटक २/३ दिनका लागि नभएर लामो समयका लागि आउँथे तर अहिले पदयात्राको अवधि छोटिएको छ । होटेलहरूको विस्तारले क्याम्पिङको आवश्यकता नै पर्दैन । क्याम्पिङ ट्रेक भनेको पदयात्राको त्यस्तो शैली हो जहाँ यात्रुहरू प्राकृतिक स्थलमा टेन्ट गाडेर बस्ने गर्छन् । यो ट्रेकिङ सामान्यतया दुर्गम, पर्यटकीय सुविधाबाट टाढा रहेका ठाउँहरूमा गरिन्छ । क्याम्पिङ ट्रेकले प्राकृतिक सौन्दर्यको नजिक अनुभव गराउने, स्थानीय जीवनशैली बुझ्ने तथा आफै खाना पकाउने वा आफन्तजनसँग रमाइलो गर्ने अवसर दिन्छ ।
होटेल वा लज नभएका एकान्त स्थानमा टेन्टमा बस्दा जंगल, पहाड, नदी र हिमाली सौन्दर्यको नजिकबाट अनुभव गर्न पाइन्छ । आफूले चाहेको ठाउँमा टेन्ट गाड्न सकिन्छ, जसले यात्रा कार्यक्रमलाई लचिलो बनाउँछ । स्थानीय संस्कृति र जीवनशैलीको निकटता अनुभव हुन्छ । दुर्गम गाउँहरूमा पुग्दा स्थानीय बासिन्दाको जीवनशैली बुझ्न र उनीहरूसँग अन्तरक्रिया गर्न सकिन्छ । स्वच्छ हावा, शारीरिक मेहनत र प्राकृतिक वातावरणले स्वास्थ्यमा सकारात्मक असर पार्छ । समूहमा मिलेर यात्रा गर्दा सहकार्यको भावना विकास हुन्छ, साथै खाना पकाउने र टेन्ट गाड्ने जस्ता शीपमा सुधार आउँछ । लोकप्रिय लजहोटेलहरूभन्दा कम भीड हुने भएकाले शान्त वातावरणमा यात्रा गर्न पाइन्छ । यदि स्वयं खाना, टेन्ट आदि बोकेर जान सक्ने हो भने क्याम्पिङ ट्रेक केही अवस्थामा लज ट्रेकभन्दा सस्तो पनि पर्न सक्छ । यसका लागि बढी समय लाग्ने भएकाले सरकारलाई भने फाइदा नै हुन्छ किनभने यसले पर्यटकको बसाइ अवधि बढाउँछ ।
नेपालमा अन्नपूर्ण, लाङटाङ, मनास्लु, र डोल्पाजस्ता क्षेत्रहरू क्याम्पिङ ट्रेकका लागि उपयुक्त छन् । यस्ता ट्रेकमा गाइड, पोर्टर, र खाना पकाउने स्टाफसहितको टोलीसँग यात्रा गरिन्छ । पर्यावरणमैत्री र साहसिक अनुभव चाहनेहरूका लागि क्याम्पिङ ट्रेक उत्कृष्ट विकल्प हो ।
क्याम्पिङ ट्रेक भनेको केवल हिमाल हेर्ने यात्रा होइन, त्यो प्रकृतिसँग साक्षात्कारको अवसर हो । झरनाको झरझर ध्वनि, नदीकिनारको पदचाप, हिमाली रातको तारा गन्ने क्षण अनि टेन्टभित्र स्लिपिङ ब्यागमा सुतेर बिताएको रात, यी सबैले क्याम्पिङलाई अविस्मरणीय बनाउँछन् । साथै, यो प्रणालीले धेरै रोजगारी सृजना गर्छ । भरिया, कुक, गाइड, टेन्ट लगाउने र व्यवस्थापन गर्ने कर्मचारीहरू सबैको योगदान जरुरी हुन्छ । क्याम्पिङ ट्रेक महँगो पर्छ । एक दिनका लागि १५० डलर जति लाग्न सक्छ तर अनुभव अमूल्य हुन्छ ।
क्याम्पिङ ट्रेकमा भरियाहरू डोको र ठूलाठूला झोलामा बन्दोबस्तीका सामग्री बोकेर उकालो लाग्छन् । बास बस्ने ठाउँमा कसैले टेन्ट गाड्छन् । कुकले खाना बनाउँछन् । कसैले तरकारी काट्छन् त कसैले भाँडा माझ्छन् । पर्यटकका लागि बसेर खाने ठाउँ पनि बनाउँछन् । ग्यास स्टोभमा तयार गरिएको तातोतातो खाना पर्यटकलाई खुवाउँछन् । उनीहरूले बिहान चियासँगै विभिन्न प्रकारका नास्ता, दिउँसो खाना र साँझको खाना पनि फरकफरक बनाउँछन् । सागसब्जी, अण्डा र विभिन्न परिकार बनाउन प्रयोग गरिने खाद्यपदार्थ, तरकारी, मसला पनि उनीहरूले बोकेरै लगेका हुन्छन् । यी सबैले होटेलमा बसेको भन्दा भिन्न तर विशेष अनुभूति दिन्छन् । यसरी क्याम्पिङ ट्रेक जान सजिलो भने छैन । जति दिनका लागि क्याम्पिङ जान लागेको हो, त्यत्तिकै दिन पुग्ने खाना, ग्यास, भाँडाकुँडालगायत सामान बोकेर लैजानुपर्छ । वास बस्न टेन्ट, स्लिपिङ ब्याग, प्राथमिक उपचारका औषधि पनि लैजानुपर्छ । मौसम सधैं एकनासको हुँदैन । हिमाली क्षेत्रमा पदयात्रा गर्दा कहिले हिउँ त कहिले असिना पानीले भिजाउँछ । बेजोड हावाहुरी त हिमालमा नियमित चल्ने भइहाल्यो ।
पोखराबाट अस्ट्रेलियन क्याम्प हुँदै सराङकोटतिरको चर्चित क्याम्पिङ रूट एक समयको प्रमुख गन्तव्य थियो । तर, सडक विस्तारले पदयात्रा छोटिएको छ, क्याम्पिङको आवश्यकता घटेको छ । पदमार्गमा सुविधासम्पन्न होटेलहरूको निर्माणले टेन्टमा सुत्नुपर्ने बाध्यता हटायो । फलस्वरूप पर्यटकहरू होटेल रोज्न थाले र क्याम्पिङ ट्रेकको माग घट्यो । होटेल र गेस्ट हाउसमा सस्तोमा खाना र बासको सुविधा पाउँदा पर्यटकले क्याम्पिङ जस्तो महँगो विकल्प छाड्न थाले । पहिले क्याम्पिङ ट्रेक हुँदा पर्यटक गाउँमा बस्थे, स्थानीयसँग सामान किन्थे । अहिलेको ‘टी–हाउस’ प्रणालीले गाउँलेको प्रत्यक्ष लाभ कम गराएको छ ।
क्याम्पिङ ट्रेकमा सहभागी पर्यटकले एक पटकको यात्रा क्रममा धेरै खर्च गर्छन्, जसको लाभ सीधै पर्यटन व्यवसायी र मजदुर वर्गमा पुग्छ । टेन्ट बसाइमा प्रयोग हुने तरकारी, दाउरा, मासु, अण्डाजस्ता सामग्री स्थानीय बजारबाट खरीद हुने भएकाले स्थानीय आर्थिक गतिविधिमा वृद्धि हुन्छ । स्थापित पदमार्ग जोगाउन क्याम्पिङ एक उपाय हो । होटेलको बाढीले पदयात्रालाई बजारजस्तो बनाउँदै लैजाँदा क्याम्पिङ प्रकृति नजिक रहने माध्यम हो ।
आवश्यक सामग्री बोकेर जानुपर्ने भएकाले ट्रेक महँगो हुन्छ । सबै ट्रेकिङ एजेन्सीहरूसँग योग्य कुक, गाइड, टेन्ट व्यवस्थापन गर्न सक्ने जनशक्ति नभए क्याम्पिङको गुणस्तर घट्न सक्छ । नेपाल सरकारले क्याम्पिङ ट्रेकको पुनरुत्थानका लागि छुट्टै रणनीति नबनाउँदा यसको प्रचारप्रसारमा कमी आएको छ ।
क्याम्पिङ ट्रेकलाई एउटा पृथक् अनुभवका रूपमा अन्तरराष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सके नेपालमा उच्च दर्जाको पर्यटक ल्याउन सकिन्छ । भीडभाडबाट टाढा रहेका पदमार्गहरू (जस्तै नार–फू, उपल्लो मुस्ताङ, मर्दी हिमाल आदि) क्याम्पिङ ट्रेकको गन्तव्य बन्न सक्छन् । क्याम्पिङमा स्थानीयलाई सहभागी गराएर ग्रामीण रोजगारीको सृजना गर्न सकिन्छ । यसले युवालाई विदेश पलायन हुनबाट रोक्ने सम्भावना पनि ल्याउँछ ।
नेपालको पदयात्रा पर्यटनको शुरुआत क्याम्पिङ ट्रेकबाट भएको हो, जसले नेपाललाई विश्वका साहसिक पर्यटन गन्तव्यमध्ये एक बनायो । अहिले प्रविधि, पूर्वाधार र सुविधाको विकासले पर्यटकलाई सजिलो बनाएको भए तापनि यसले क्याम्पिङ जस्तो मौलिक र प्रकृतिपरक पर्यटन गतिविधिलाई विस्थापन गरिरहेको छ । तर अन्नपूर्ण नर्थमा गरिएको क्याम्पिङ ट्रेकले फेरि एउटा सन्देश दिएको छ– यो परम्परा पूर्णरूपमा हराएको छैन, केवल सुस्त भएको हो । समय छ फेरि जाग्ने, प्रकृतिमा फर्किने र पदयात्राको पुरानो स्वादलाई पुनर्जीवित गर्ने ।
यदि राज्य, निजीक्षेत्र, र स्थानीय समुदाय मिलेर अगाडि बढे भने क्याम्पिङ ट्रेक फेरि पनि नेपालको पर्यटनको गौरव बन्न सक्छ । र, यो गौरव केवल आम्दानी होइन, स्थानीय संस्कृतिको संरक्षण, रोजगारी सृजना र प्राकृतिक सम्पदाको जगेर्ना पनि हो । यदि प्रकृतिसँगको अन्तर्सम्बन्ध पुनःस्थापना गर्न चाहने भने ‘क्याम्पिङ ट्रेक’ फेरि एकपटक अग्रभूमिमा ल्याउनु अत्यावश्यक छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।