- पहिलेजस्तो खुला चउरहरू, खोलानालाहरू अहिले छैनन् । खोला कुलोमा र कुलो दुलोमा लुकेका छन् ।
- निर्मम तरीकाले तिनका निर्मूल गर्नुमा भन्दा पनि नियन्त्रित व्यवस्थापनपट्टि ध्यान दिनुपर्छ भने घरेलु रूपमा पालिएका पशुधनीहरूको मनोसंस्कारमा परिवर्तन ल्याउन आवश्यक छ ।
- कुकुर पाल्नु शहरी सभ्यता हो भने त्यसले वातावरणमा पुर्याउने खलबलीको व्यवस्थापन पनि गरिनुपर्छ ।
- घरेलु पशुहरूको व्यवस्थापन र तिनका धनीहरूलाई स्थानीय सरकारले कुनै न कुनै निगरानीमा ल्याउन जरुरी छ ।
- ‘कुकुरदेखि होशियार’ हुँदै ‘डग अन ड्यूटी’ लेख्न रुचि राख्ने शहरवासीहरूले आफू सभ्य हुनुको परिचय यस्तै सानामसिना कुराको व्यवस्थापनबाट पनि सिक्ने बेला आएको छ ।
यो नेपाल खाल्डो अर्थात् चार भञ्ज्याङभित्र छिरेको पनि ५४ वर्ष भइसकेछ । २०२८ सालमा म पहिलोपल्ट यहाँ छिरेको हो । त्यो बेला आउँदा पूर्वी नेपालबाट यहाँ आउने सीधा बाटो थिएन, आजको जस्तो । भारतीय रेलमार्ग हुँदै रक्सौल भएर बाईरोडको बाटो याने कि त्रिभुवन राजपथ भएर यहाँ छिर्नुपर्थ्यो । तीसको आरम्भमा धूलाम्मे महेन्द्र राजमार्ग हुँदै नेपालबाटै २ रात वास बसेर यहाँ पुगिन थालेको हो । पहिलोपल्ट यहाँ आउँदा मैले अनौठो अनुभूत गरेको चाहिँ के हो भने यहाँका अग्लाअग्ला पर्खालका कम्पाउन्डले घेरिएका घरहरूको बाहिर मूलढोकामै लेखिएको ‘कुकुरदेखि होशियार’ भन्ने साइनबोर्डले गराएको हो । कारण के भने डेरा खोज्दै जाँदा त्यस्ता बोर्ड ढोकैमा झुन्डिएका देखिन्थे । अझै पनि त्यो संस्कारको शेष रहेकै देखिन्छ । त्यो बेला त्यहाँ मान्छे होइन, कुकुरहरू पो बस्ने भएर हो कि ? त्यसरी लेखेका भन्ने लागेकै पनि हो । अभीष्ट त्यसो नहुँदो हो । तर पनि हामीले त्यस किसिमका अर्थ लगाएर मजाक गर्थ्यौं । त्यस्ता लेखिएका स्थानहरूले पनि घर भाडामा त लगाउँथे तर त्यो हाम्रो बुताबाहिरको हुन्थ्यो । कारण, हामी थियौं विद्यार्थी वर्ग र यस्ता वर्गसित साथमा परिवार नभएकाले त्यस्ता स्थानमा प्रायः निषेधै जस्तो थियो डेरा । यसैले कहाँ कहाँ ‘टु लेट’ लेखिएका छन् त्यतातिर हामी डेराका लागि घुम्थ्यौं पनि । त्यो तरीका पनि यहीँ आएर जानेको हो । त्यस्ता लेखिएका ठाउँहरूमा पहिले त्यसको अर्थ नजानेरै हामीले किन यसरी घरका भित्तामा सबैले देख्नेगरी ट्वाइलेट लेखेको होला ? भनेर अचम्म पनि मान्थ्यौं । बीचमा आई अल्फाबेट चाहिँ छुटेको होला जस्तो लाग्थ्यो । तर, त्यो त घरभाडाका लागि कोठाहरू उपलब्ध छन् वा भाडामा लगाइन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि गरिएको एकखाले विज्ञापन पो रहेछ । शहरको यो अनौठो चलन देख्दा ऊ बेलाका हामी गँवारलाई त्यस्तो लाग्नु अन्यथा थिएन । पछि त्यस्तै टुलेट लेखिएका स्थानहरूमा डुल्दै घुम्दै गर्दा हाम्रो क्षमताभित्रको डेरा पाएर प्रफुल्लित थियौँ ।
अहिले, त्यो बेलाको नेपाल खाल्डोभित्र वा चारभञ्ज्याङभित्र करीब ५० लाखको मानव आवादी भइसकेको छ । खाल्डोमा घरहरूको जंगल मात्र देखिन्छ । कहीँ कतै खाली ठाउँ छैन । वरिपरिका पाखाभित्ता पनि घरघडेरीका लागि कोतरिन थालेका छन् । आगामी दिनमा रहेबचेका वरिपरिका जंगल सखाप भएछन् भने पनि त्यो कुनै आश्चर्य हुने छैन । त्यो बेला भने गएको असोज २०८१ सालमा आएको बाढी पहिरोकै रमिता हेरेर बस्नुपरेजस्तै अनौठो नमाने पनि हुन्छ । यी त भए भविष्यका सम्भावनाका कुरा । आशा गरौं नेपाल खाल्डो सुन्दर हुनेछ । अहिले चर्चा गर्न लागेको कुरा के हो भने पहिलेझैं अचेल ‘कुकुरदेखि होशियार’ कम लेखिन थालेका छन् । कम लेखिएको होइन, त्यसको स्वरूपमा परिवर्तन भएको होला । त्यसका स्थानमा ‘डग अन ड्युटी’ ले स्थान लिएको रहेछ । यसैगरी ‘टुलेट’का स्थानमा अचेल अनेकौं किसिमका विदेशतिरकाझैं रियल्टर्सहरू देखिन थालेका छन् । घरभाडा खोजिदिने र लगाउने एउटा ब्रोकरजस्तो दलाली कम्पनीकै विकास हुनु नराम्रो होइन । तिनले सेवा दिएबापत १ महीनाको भाडाचाहिँ शुल्कबापत लिँदा रहेछन् । यो पेशा नराम्रो होइन । यिनले दिने सेवाबाट उहिले हामीले पाएको दुःखजस्तो घरघर टुलेट हेर्दै भौंतारिनु नपर्ने र कुकुरदेखि होशियारी पनि गर्दै हिँड्नु नपर्ने रहेछ । यो एक प्रकारको छलाङ नै हो । तर, ‘कुकुरदेखि होशियार’ लेख्नेहरूले ‘डग अन ड्युटी’ राखेर नयाँ खालको सञ्चारसन्देश प्रवाह गरे पनि तिनका मनोवृत्तिगत संस्कारमा भने कुनै परिवर्तन देखापरेको रहेनछ, चिन्ता यहाँनेर हो ।
करीब ६ सय वर्ग किलोमीटर क्षेत्रफलभित्र ५०–६० लाखको जनआवादी थुप्रिएको राजधानीका आना डेढ आनाका घरहरूमा कुकुरपालनको उपस्थिति भने अधिकांशमा बाक्लो गरी देखिनु शहरी सभ्यता नै पो लाग्यो । कुकुर पाल्नु शहरी सभ्यता नै होस् तर तिनको व्यवस्थापन मुख्य कुरा हो । पहिलेजस्तो खुला चउरहरू, खोलानालाहरू अहिले छैनन् । खोला कुलोमा र कुलो दुलोमा लुकेका छन् । खुला चउरहरू त कहाँ कहाँ पुगे, खोजी कसले गर्ने ? खुला स्थानकै अभावमा पाल्तु यस्ता पशुहरूको बिष्टा व्यवस्थापनचाहिँ छरछिमेकका साँध सिमाना र दैलातिर हुनु विडम्बनै हो । आमनागरिक हिँड्डुल गर्ने सडकतिर तिनका बिष्टा फ्याँकिँदा पक्कै पनि त्यसले शहरी सभ्यतालाई नै गिज्याइरहेको लाग्छ । यति मात्र होइन, कतिपयले त यसलाई व्यवसाय पनि बनाएका रहेछन् । आम्दानी पनि हुँदो हो । उसो भए त्यस्ता व्यवसायलाई विधिवत् स्थानीय सरकारहरूका निगरानीमा राखिनु राम्रो हो । तर न स्थानीय सरकारहरूले यतापट्टि ध्यान दिएका छन् न कुकुर पाल्नेहरूलाई तिनको बिष्टा व्यवस्थापनकै चाँजोपाँजो मिलाइदिएका छन् । हेर्दा सामान्यजस्तो लागे पनि कुकुर पाल्नु शहरी सभ्यता हो भने त्यसले वातावरणमा पुर्याउने खलबलीको व्यवस्थापन पनि गरिनुपर्ने हो । यसमा पशु अधिकारकर्मीहरूले खासै बोलेको पनि पाइएन । साँघुरो शहरी बस्तीभित्र पालिएका यसखाले पशुधनीहरूलाई स्थानीय सरकारको निगरानीमा राख्न खासै माथापच्चिसी पनि गर्नु पर्दैन । तिनलाई पञ्जीकरणको नियमनमा ल्याएर यस्ता पशुहरूको बिष्टा व्यवस्थापन गर्ने कुनै निश्चित स्थान तोक्ने वा टुंगो लगाउने र तौरतरीकाहरूको मात्र पनि निगरानी गरिदिने हो भने शहरी बसोवासमा बिग्रँदो छिमेक सम्बन्धमा पनि सुधार आउने देखिन्छ ।
अमेरिकाको न्यूयोर्कमा सन् २०१२ मा पुगेका बेला यो लेखन्तेले आँखैले देखेको कुरा यहाँ स्मरण गर्नु सान्दर्भिकै होला । त्यहाँ कुकुर साथमा लिएर घुम्न निस्कनेहरूले त्यसका बिष्टा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री पनि साथमै लिएर जाँदा रहेछन् । जस्तोः पार्कतिर (त्यस शहरको बिचोबीच भागमा निकै ठूलो पार्क छ) डुलाउनेहरूका लागि ठाउँठाउँ तिनका बिष्टा व्यवस्थापनका कन्टेनर भाँडोहरू राखिएका हुँदो रहेछन् । र, तिनका पशुधनीले कबै बिष्टा गरिहाले त्यसलाई पशुधनी स्वयम्ले सोहोरेर त्यस्ता कन्टेनरमा राख्नैपर्ने रहेछ । नत्र ऊ जरीवानाको भागी बन्दो रहेछ । त्यसखाले सूचनाहरू ठाउँठाउँ लेखिएबाट यस कुराको मेसो पाइँदो रहेछ । ठीक विपरीत हामीकहाँ भने आफ्नो घरमा फोहोर हुने अरूको घरदैलोमा र सार्वजनिक बाटोघाटो सडकतिर फोहोर नहुने मनोसंस्कारको पिरलो देखियो । भुस्याहा कुकुर त शहरमा बिगबिगी नै छन् । बेलाबेला तिनलाई तह लगाउन अनेक खालका प्रयोग गरिएको देखिए पनि, (जस्तोः परिवार नियोजनको माध्यम) खोजिए पनि ती निर्मूल भने भएका छैनन् । निर्मम तरीकाले तिनको निर्मूल गर्नुमा भन्दा पनि कसरी नियन्त्रित व्यवस्थापन, छाडा होइन, गरिनेपट्टि ध्यान दिनुपर्छ भने घरेलु रूपमा पालिएका पशुधनीहरूको मनोसंस्कारमा परिवर्तन ल्याउन आवश्यक छ । अब भने स्थानीय सरकारहरूले यतापट्टि ध्यान दिनैपर्छ । कसरी हुन्छ शहरी क्षेत्रमा देखिँदै आएको यसखाले सामाजिक विसंगतिमा सुधार ल्याउन जरुरी छ । घरेलु पशुहरूको व्यवस्थापन र तिनका धनीहरूलाई स्थानीय सरकारले कुनै न कुनै निगरानीमा ल्याउन जरुरी भएको छ ।
तिनका बिष्टा व्यवस्थापन गर्न तोकिएका स्थान, तौरतरीका र जिम्मेवारीसमेतको व्यवस्थाप्रति ध्यान जानु जरुरी छ । तिनकै लागि भनेर खुल्ला स्थान त राजधानीमा अब शिला खोजे पनि पाइँदैन तर व्यवस्थापनमा केही ध्यान दिने हो भने कुनै महाभारत पनि नहोला । ‘कुकुरदेखि होशियार’ हुँदै ‘डग अन ड्युटी’ लेख्न रुचि राख्ने अमुक शहरवासीहरूले आफू सभ्य हुनुको परिचय यस्तै सानामसिना कुराहरूको व्यवस्थापनबाट पनि सिक्ने बेला आएको छ । नत्र अब ‘कुकुरदेखि होशियार’ होइन पाल्नचाहिँ पाल्ने तर तिनको बिष्टा व्यवस्थापनमा अलिकति पनि चासो नराख्नेहरूलाई सामाजिक पहलबाटै ‘कुकुरको बिष्टादेखि होशियार’ पो लेख्नुपर्ने समय आएको हो कि ? भन्ने भएको छ । यसको अर्थशास्त्रको अर्थ यसरी पनि खुला ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।