विराटनगर । गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरूलाई ३० दिनभित्रमा महसुस हुनेगरी सीमावारपार हुने तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । अघिल्लो दिन गृहमन्त्री लेखकलाई मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघका कोशी सम्बद्ध उद्योगी व्यवसायीले तस्करीबारे गुनासो गरेका थिए ।
उद्योगी व्यवसायीको गुनासो सुनेपछि मन्त्री लेखकले खुला सीमाको कारण भइरहेको तस्करी नियन्त्रण गर्न आवश्यक रहेको बताए । तस्करीका कारण अपराध बढेको र राजस्व घटेकाले मुलुकमा नराम्रो असर परेको भन्दै उनले तस्करी नरोकिए गृह मन्त्रालय एक्सनमा जाने बताए ।
जनताले गणतन्त्रको अनूभूति गर्न मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउँदै मन्त्री लेखकले त्यसका लागि कुनै पनि कम्प्रमाइज नगरी लाग्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । लागुऔषध, सवारी दुर्घटना, आत्महत्या जस्ता घटनाले चुनौती खडा गरेकाले त्यसलाई घटाउने गरि प्रहरी प्रशासन परिचालित हुनुपर्ने उनले बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतीहरू बढ्दै गएको उल्लेख गर्दै विकासमा हुने सम्भावित सुरक्षा चुनौतीलाई सर्तकपूर्वक लिनुपर्ने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी साइबर क्राइम, लागुऔषध ओसारपसार र अवैध गतिविधि नै अहिलेको प्रमुख चुनौती भएको बताए ।
गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।