काठमाडौं । प्रतिनिधिसभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था तोडमोड गरिएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यसलाई सच्याउन राष्ट्रिय सभालाई अनुरोध गरेका छन् ।
सभापति खतिवडाले मंगलवार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था तोडमोड गरी प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘यो सामान्य अवस्था होइन, यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु,’ प्रेस वक्तव्यमा उल्लेख छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन’ उल्लेख छ ।
प्रतिनिधिसभाबाट पारित विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । तर दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था छ ।
उक्त विधेयक प्रतिनिधिसभाबाट गत आइतवार पारित भएको थियो ।