काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोगका विभिन्न कार्यहरू गरेको छ ।
बैंकले शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्न सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको बटालागाउँ, पूर्वीचौकी गाउँपालिका वडा नं. ५ स्थित नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्राहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । यसबाट विद्यार्थीहरूमा उत्साह थपिनुका साथै अध्ययनप्रति अभिरुचि बढ्ने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै बैंकले कर्णाली प्रदेशको वीरेन्द्रनगर वडा नं ४, सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोगस्वरुप १० थान ह्वीलचेयर प्रदान गरेको छ । यसबाट स्वास्थ्य सेवा लिन आउने विरामी र ज्येष्ठ नागरिकहरूलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । साथै, बैंकले विरामी तथा कुरुवाको बसाई सहज बनाउन कोशी प्रदेशको धनकुटा जिल्ला अस्पताललाई ७ थान तीनसिटे कुर्सीहरू हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यसबाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतालगायतका क्षेत्रमा निरन्तर सकारात्मक योगदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधिहरू अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।