काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरीद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउने बताइएको छ । खेतीयोग्य जमीनको उपयोग गर्न धानखेती गरी कृषकको आम्दानी बढाई कृषि पेशालाई मर्यादित र व्यावसायिक बनाई कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।
साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिरनजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाईं आयोजना गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीकरण तथा व्यावसायिकीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रम आयोजना गर्ने गरेको बताए ।