काठमाडौं । नेपाल र भारतबीचको व्यापार, लगानी र आर्थिक सहकार्यलाई थप मजबूत बनाउने उद्देश्यले नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)बीच रणनीतिक समझदारी भएको छ । शुक्रवार भारतको राजधानी नयाँदिल्लीमा आयोजित समारोहमा निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकी महानिर्देशक ज्योति विजबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीअनुसार दुवै संस्था आपसी व्यापार, सीमापार कारोबार र लगानी प्रवर्द्धनका क्षेत्रमा संयुक्त रूपमा क्रियाशील रहनेछन् ।
सम्झदारीपछि अब नेपाल र भारतका व्यापारिक प्रतिनिधिमण्डलहरूको नियमित रूपमा संवाद हुनेछ । साथै, दुवै संस्थाले गैर–गोप्य सूचना, तथ्यांक र व्यापारसम्बन्धी प्रकाशनहरूमा साझेदारी गर्नेछन् । हरेक वर्ष कम्तीमा एक प्रमुख संयुक्त कार्यक्रम सञ्चालन गरिने पनि सहमति गरिएको छ ।
निक्की नेपालका लागि फिक्कीको विशेष साझेदारका रूपमा रहनेछ भने फिक्की भारतका लागि निक्कीको विशेष साझेदारका रूपमा क्रियाशील हुनेछ । यसले दुवै संस्थाबीचको सम्बन्धलाई औपचारिक तथा दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ ।
सम्झौतापछि निक्की अध्यक्ष केसीले दुवै देशका व्यवसायीबीच प्रत्यक्ष संवाद, साझा अध्ययन, बजार सर्वेक्षण तथा नयाँ आर्थिक सम्भावनाहरूको पहिचानमा सघाउन यो समझदारी सहयोगी हुने बताए । साथै, उनले निक्की र फिक्कीको सहकार्य द्विपक्षीय सम्बन्धमा सीमित नरही क्षेत्रीय स्तरसम्म फैलिन सक्ने बताए ।
फिक्कीकी महानिर्देशक विजले पनि नेपाल–भारतबीचको आर्थिक सम्बन्ध मजबूत बनाउन दुवै संस्थाको साझा जिम्मेवारी रहेको भन्दै यस सहकार्यले लगानी प्रवर्द्धन, नीति सुधार र उद्योग विस्तारमा विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
निक्कीका अध्यक्ष केसीका अनुसार अब दुवै संस्थाले ‘निक्की–फिक्की ट्र्याक १.५’ नामक पहल शुरू गरिनेछ, जसमा दुवै देशका निजीक्षेत्रका साथै सरकारका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यो पहलले नीति संवाद, लगानी प्रवर्द्धन तथा नेपालमा हाल देखिएको लगानी आकांक्षालाई मूर्तरूप दिन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यो समझदारीले नेपाल–भारतबीचको लामो समयदेखिको आर्थिक अन्तरनिर्भरतालाई औपचारिक बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । दुवै संस्थाले सीमापार कारोबारका चुनौती समाधान गर्दै आगामी सम्भावनाहरूको उपयोग गर्न निकट सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्झौताअनुसार निक्की र फिक्कीले अब नेपाल र भारतबाहेक बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआइएन) तथा बंगालको खाडी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) क्षेत्रहरूमा समेत संयुक्त सहकार्य गर्नेछन् । त्यसअनुरूप क्षेत्रीय व्यापार, पारवहन, ऊर्जा तथा पूर्वाधारजस्ता क्षेत्रहरूमा समेत नयाँ पहल गरिनेछ ।
भारतको सबैभन्दा पुरानो र प्रभावशाली व्यापार संगठन फिक्की सन् १९२७ मा महात्मा गान्धीको सल्लाहमा स्थापना गरिएको हो । सार्वजनिक तथा निजीक्षेत्रका करीब २ लाख ५० हजारभन्दा बढी कम्पनी यस संस्थामा आबद्ध छन् । यसले नीति निर्माण, नवप्रवर्तन, आर्थिक वृद्धि र अन्तरराष्ट्रिय लगानी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
त्यसैगरी सन् १९९३ मा प्रभाकर एसजेबी राणाद्वारा स्थापित निक्की नेपाल–भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि काम गर्ने गैरनाफामूलक द्विदेशीय संस्था हो । यसले दुवै देशका व्यवसायी र उद्योगहरूबीच रणनीतिक साझेदारी निर्माण, नीतिगत संवाद सञ्चालन, बजार विश्लेषण तथा पूर्वाधार, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा सहकार्यको अवसर उपलब्ध गराउँदै आएको छ ।