काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ । चौथौ वार्षिकोत्सवका अवसरमा असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाइरहेको बैंकले जानकारी दिएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिने बताइएको छ ।
- नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिने बताइएको छ ।
साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा नबिल बैंकका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरू सहभागी हुने बताइएको छ । उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारीसाधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको बताइएको छ ।
नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अंगीकार गर्दै आएको बैंकको भनाइ छ । बैंकको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैंकले जानकारी दिएको छ । बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको बताएको छ । जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको बताएको छ ।
बैंकले हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको बताइएको छ । साथै २१ जिल्लाका ३७ ओटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ ओटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको बताइएको छ ।
त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको बताइएको छ । गत आर्थिक वर्षसम्ममा बैंकले कृषि क्षेत्रमा मात्रै ४५ अर्ब ३८ करोड रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५ अर्ब रुपैयाँ लगानी गरिसकेको बताइएको छ । बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२ दशमलव ३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।