काठमाडौं । सोमवार तीन कम्पनीहरूले कुल १६ लाख ७८ हजार ४८५ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् ।
पछिल्लो समय हरेक दिनजसो नै संस्थापक शेयरहरू विक्रीमा आउने क्रमले निरन्तरता पाइरहेको छ । यसै क्रममा सोमवार छिमेक लघुवित्तले १ लाख कित्ता, सूर्योदय वोमी लघुवित्तले १५ हजार कित्ता र सानिमा रिलायन्स लाइफ इन्स्योरन्सले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी तीन कम्पनीको उल्लेखित कित्ता शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो चरणमा खरीद गर्न पाउनेछन् ।
आगामी ३५ दिनभित्र यी कम्पनीका शेयर खरीदका लागि सम्बन्धित कम्पनीहरूको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि केन्द्रीय कार्यालय नक्साल, काठमाडौं, छिमेक लघुवित्तको शेयर खरीदका लागि केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौं र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि केन्द्रीय कार्यालय महालक्ष्मीस्थान, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
छिमेक लघुवित्तले भने शेयरको मूल्य प्रतिकित्ता ४४५ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको शेयर खरीद माग गर्नुपर्नेछ । अन्य कम्पनीले मूल्य उल्लेख गरेका छैनन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर विक्रीमा आएको यी शेयर यो चरणमा विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूलाई विक्री गरिनेछ ।