साउन २०, घोराही । घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७५/ ०७६ मा कुल ११ किलोमिटर सडकमा कालोपत्र गरेको छ । उपमहानगरका विभिन्न क्षेत्रमा रहेका सडकहरु कालोपत्रका लागि रू.९ करोड ९० लाख खर्च भएको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए ।
उपमहानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा रखेको उनले बताए । ‘नगरपालिकाबाट उपमहानगरपालिका बन्दा धेरै वडाहरु गाभिएका छन्, ती सबै वडाहरुमा सडक कालोपत्र गर्ने हाम्रो योजना छ,’उनले भने, ‘सडक विकासको मेरुदण्ड भएकाले उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको हो ।’
विगतका आर्थिक वर्षहरुमा पनि घोराहीको प्रमुख प्राथमिकतामा सडक विस्तार तथा कालोपत्र हुने गरेको थियो । उपमहानगरपालिकाले गत आवमा सडक कालोपत्र, विस्तार, ग्राभेल तथा नयाँ ट्रयाक, ह्युमपाइप लगायतको संरचना निर्माणका लागि रू.२१ करोड १७ लाख विनियोजन गरको थियो । गत आवमा ४९ किलोमिटर सडक खण्डमा ग्राभेल भएको छ ।
उपमहानगरपालिकाका तथ्यांक एवं सूचना अधिकृत भीमबहादुर चौधरीका अनुसार २२ किलोमिटर नयाँ सडक निर्माण तथा पुरानो सडक चौडा गरिएको छ । उपमहानगरपालिकाको सडक निर्माण अन्र्तगत शहीद गेटदेखि दक्षिण तर्फ जिल्ला प्रशासन कार्यालय जाने सडक विस्तार र कालोपत्रको काम चालु अवस्थामा रहेको छ । घोराहीको ट्राफिक चोकदेखि नेपाली सेनाको व्यारेकसम्मको सडक विस्तारको कार्य भइरहेको छ ।
सो सडक चालु आवमा नै कालोपत्र हुने मेयर चौधरीले बताए । यस्तै सुर्केडाँगी चाक्लीघाट सडक विस्तार तथा निर्माणको काम भइरहेको छ । घोराही उपमहानगर क्षेत्र भित्रका सडकलाई नियमित रुपमा व्यवस्थित सञ्चालनका लागि १५० ओटा ह्युम पाईप तथा पक्की कल्भर्ट निर्माण गरिएको छ । सो कार्य गर्नका लागि रू.१ करोड ८५ लाख ६६ हजार ८३३ बजेट विनियोजन भएको थियो ।
जसमध्ये गत आवमा रू.१ करोड ७९ लाख खर्च भएको थियो । सडक सञ्जाल विस्तार विना उपमहानगरका ग्रामीण बस्तिको शहरी क्षेत्रमा सहज पँहुच पुग्न नसक्ने भएकाले आफूले प्राथमिकतामा राखेको चौधरीले बताए ।
उपमहानगरपालिकाले सबै वडाहरुलाई जोड्ने गरी चक्रपथको योजना समेत अघि सारेको छ । विगतमा घोराही नगरपालिका रहँदाको क्षेत्र विस्तार भएर उपमहानगर भए पछि पुरानो डिजाइनमा परिवर्तन गर्नुपरेको चौधरीले बताए । उनका अनुसार पहिले नगरपालिकाभित्रका सबै वडा समेट्ने गरी डिजाइनको काम भइरहेको थियो तर, अहिले उपमहानगरको क्षेत्र विस्तार भएपछि नयाँ डिजाइन गर्नु परेको हो ।