काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरुमा विक्री गरिनेछ भने ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री हुनेछ । सर्वसाधारणमा विक्री हुने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
कम्पनीको ऋणपत्र निष्कासन छिटो अवधि चैत २८ गतेसम्म गरिने जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको छ । ऋणपत्रमा मागभन्दा बढी आवेदन परेकाले उक्त अवधिसम्म मात्रै निष्कासन गर्न लागिएको विक्री प्रबन्धकको भनाइ छ ।
यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । यो ऋणपत्रका लागि तोकिएको ७ प्रतिशत ब्याज प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने जानकारी बैंकले दिएको छ ।