मङ्सिर २९, काठमाडौं । नाकाबन्दी र मधेश आन्दोलनका कारण देशमा पेट्रोलियम पदार्थको चरम अभाव सृजना भएको छ । यसले गर्दा ग्यास, पेट्रोलियम पदार्थ, खाद्यलगायत सामग्रीका लागि उपभोक्ताको लामो लाम देख्न सकिन्छ । यही समस्यालाई दृष्टिगत गर्दै नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको वितरण व्यवस्थित र सहज बनाउन ‘डिष्ट्रिब्युशन म्यानेजमेण्ट सिष्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ ।
यो प्रणाली प्रयोगमा ल्याई पेट्रोल पम्पहरूमा लाग्ने लाइनको व्यवस्थापन गरिने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो प्रणाली कहिले र कसरी लागू गर्ने भन्नेबारे तत्काल केही बताइएको छैन । यद्यपि, यससम्बन्धी मिति तथा सम्बन्धित पेट्रोल पम्पबारे अर्को सूचनामार्फत जानकारी दिइने उल्लेख छ ।
एसएमएसबाट गरिएको अनुरोधको आधारमा पेट्रोलियम वितरण हुने बताइएकाले उपभोक्तालाई निश्चित समयमा सहजै तेल भर्न राहत मिल्ने भएको छ । तर, यो प्रणालीले कसरी काम गर्छ ? अनुरोध कसरी गर्ने ? लगायत विषयमा भने उपभोक्ता अन्योलमा छन् । त्यसैले, एसएमएसबाट इन्धन अनुरोध गर्न र पाउन के गर्नुपर्छ भन्ने जानकारी यहाँ प्रस्तुत गरिएको छ :
आफूलाई चाहिएको इन्धन माग गर्न मोबाइल फोनको ‘मेसेज बक्समा गई निम्नानुसार कोड टाइप गर्नुपर्छ ।
आरईक्यू(स्पेस)एफटी(स्पेस)बीबीएन(स्पेस)एसटीडी(स्पेस)ईजेड(स्पेस)सीसी / { REQ(space)FT(space)BBN(space)STD(space)EZ(space)CC }
उल्लिखित वर्णको पूर्णरूप यहाँ प्रस्तुत गरिएको छ–
आरईक्यू : रिक्वेष्ट
एफटी : फ्युल टाइप (इन्धनको प्रकार), यसमा पेट्रोलका लागि : पी, डिजेलका लागि : डी, ग्यासका लागि : जी
बीबीएन : आफ्नो सवारीको ब्लूबूक नम्बर
एसटीडी : आफ्नो जिल्लाको टेलिफोन एसटीडी कोड
ईजेड : निर्वाचन क्षेत्र
सीसी : कञ्जुमर क्याटेगोरी अर्थात् खपतको प्रकार वा ग्राहकको प्रकार, यसमा पनि सानो सवारीसाधनका लागि : एस , मझौला सवारीसाधनका लागि : एम, ठूला सवारीसाधनका लागि : एल उल्लेख गर्नुपर्छ ।
यसरी तयार गरिएको मेसेज ११११ नम्बरमा पठाउनुपर्छ । यो प्रक्रिया पूरा गरेपछि मोबाइलमा तपाईंको अनुरोध स्वीकार भएको सन्देश र एउटा कोड नम्बर पठाइन्छ ।
आफ्नो लाइन कहा पुग्यो भन्ने थाहा पाउने तरीका :–
यी सबै प्रक्रिया पूरा गरेपछि तपाईंले इन्धन पाउने दिन, समय र स्थानबारे एसएमएस सन्देशमार्फत अग्रिम सूचना दिइने आयल निगमको वेबसाइटमा उल्लेख छ । तपाईं आफ्नो मोबाइलमा प्राप्त गरेको सोही जानकारीअनुसार इन्धन लिन जानुपर्ने हुन्छ । कहिलेकाहीँ विभिन्न कारणवश माग रद्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भन्दै निगमले माग रद्द गर्ने व्यवस्था पनि गरेको छ ।
यसका लागि उपभोक्ताले - सीएएन (स्पेस)बीबीएन(स्पेस)सीओडीई { CNN(space)BBN(space)CODE } , टाइप गरी ११११ नम्बरमा एसएमएस पठाउने सुविधा दिइएको छ ।
एसएमएस क्यू प्रणालीका शर्त तथा बन्देज :-
- उपभोक्ताले ब्लूबुक, सवारीसाधन र एसएमएसमा उपलब्ध उपभोक्ता कोड अनिवार्य ल्याउनुपर्नेछ ।
- ब्लूबूक नम्बर भन्नाले ब्लूबूक छाप्दाको कालोमसीयुक्त पहिचान अङ्क बुझिनेछ ।
- इन्धन लिन उपभोक्तालाई बोलाइएको समयावधिको २ घण्टाभित्र सम्बन्धित पेट्रोलपम्पमा आइपुग्नुपर्नेछ ।
- उपभोक्ताले एउटा अनुरोध पठाएर प्रणालीले स्वीकारोक्ति गरेपश्चात् निश्चित अवधिसम्म पुनः ‘क्यू’ गर्न पाइनेछैन् । एउटा अनुरोध खारेज गरेपछि मात्र अर्को अनुरोध गर्न सकिनेछ । अवधि नियमले तोकेबमोजिम हुनेछ ।
स्रोत : नेपाल आयल निगमको वेबसाइट