बारा (अस) । जिल्ला मालपोत कार्यालय बारा, सेवाकेन्द्र बरहथवाले एउटै जग्गा दुईपटक दुई फरक मौजामा नापी गरेको पाइएको छ । उक्त जग्गा नापी आयोगका तत्कालीन आयुक्त श्रीकण्ठ शर्माकोे टोलीले २०२८ सालमा पहिलोपटक नापी गरेर लालपुर्जा वितरण गरेको थियो । कार्यालयको तथ्याङ्कमा नापीबाट केही जग्गा स्थानीय र बाँकी २४ बिगाहा जग्गा ‘भूमाफिया’को नाममा रहेको देखिन्छ ।
नापीपछि स्थानीयले जग्गा नपाएको तथा जङ्गलको जग्गा धेरै नापी भएको उजुरी गरेका थिए । उक्त जग्गा दोस्रोपटक २०३३ सालमा कायमुकायम आयुक्त महेन्द्रकुमार बान्तवाको टोलीले नापी गरी स्थानीयको नाममा ल्याएको थियो । बाँकी जग्गा पुनः जङ्गल कायम गरिएको थियो ।
आयोगले एउटै नक्साको दुईपटक गरेको नापीमा मौजाको नाम फरक कायम छ । तत्कालीन आयुक्त शर्माकोे टोलीले २०२८ सालमा पहिलोपटक गरेको नापीमा राजघाट मौजा र सोही जग्गालाई दोस्रोपटक २०३३ सालमा कामु आयुक्त बान्तवाको टोलीले बरहथवा मौजा कायम गरेको छ । माफियाको लालपुर्जामा राजघाट मौजा र स्थानीयको लालपुर्जामा बरहथवा मौजा उल्लेख छ ।
उक्त जग्गाको पहिलो लालपुर्जा र नक्साअनुसार कुनै कामकारबाही नहुने मालपोत कार्यालयले बताएको छ । तर, कार्यालयको स्रेस्तामा २०७० साल भदौ २१ गतेको पुरानो नक्साअनुसार जग्गा पास भएको छ । सेवाकेन्द्र बरहथवाका प्रमुख विन्देश्वर महतोले यस्तो जग्गामा पुरानो धनीको कुनै हकदाबी नरहने बताए ।
सो जग्गा २०३३ सालमा दोस्रोपटक नापी भएपछि पहिलो धनीको हक खारेज भइसकेको महतोको तर्क छ । २०७० सालमा भएको नामसारीको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । स्रेस्ताअनुसार २०७० भदौ २१ गते कार्यालयबाट सुनसरी वराहक्षेत्रका उत्तमकुमार सुवेदीको नाममा १४, २० र ५६ नम्बर कित्ता गरी ६ बिगाहा, सुनसरीका विश्वकुमार खड्काको नाममा १७ र ५५ कित्ता नम्बरबाट ३ बिगाहा, सुनसरी मधेशका सुभाष खड्काको नाममा १८, २२ र ५७ नम्बर कित्ताबाट ६ बिगाहा, झापा तोपगाछीका मोहनबहादुर कार्की मोरङ इन्द्रपुरका भागवत भट्टराई र सुनसरी वराहक्षेत्रका थानेश्वर सुवेदीको नाममा गरी १६ र १९ नम्बर कित्ताबाट ६ बिगाहा र भोजपुर दलगाउँका सुमन कार्कीको नाममा २१ नम्बर कित्ताबाट ३ बिगाहा जग्गा पास भएको तथ्याङ्क छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.