काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चैत ३ गते बोलाएको विशेष साधारण सभा स्थगित भएसँगै कम्पनीले पुनः विशेष साधारण सभा बोलाएको छ । चैत ३ गतेको विशेष साधारण सभाका लागि गणपूरक संख्या नपुगी स्थगित भएकाले सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ११ गते पुनः उक्त सभा गर्ने निर्णय गरेको हो । सभा हिमशिखर पार्टी भेन्यु, चापागाउँ, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।
सभाका प्रस्तावहरू यस अघिकै हुनेछन् । सभाका लागि यस अघि हकप्रद शेयर निष्कासनपश्चात् कायम हुने चुक्तापूँजी बराबर हुने गरी जारी पूँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव तय गरिएको छ । त्यसका लागि नियामक निकायको निर्देशन बमोजिम काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साथै कम्पनीको नियमावली बमोजिम २ जना सञ्चालक नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिको विषयलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन २२ गते बिहिवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।