साउन ४, महोत्तरी । मिथिलाञ्चलमा साउन महीना लाग्ने बित्तिकै महिलाले अनिवार्य रूपमा हरियो चुरा लगाउने परम्पराका कारण यहाँ तीन दिनमै रू. नौ लाखको हरियो चुराको व्यापार भएको छ ।
सदरमुकाम जलेश्वरमा लाग्ने गरेको चुरा बजार, शृङ्गार पसल तथा गाउँगाउँमा लहेरी (चुरा बेच्ने) महिलाले गएर तीन दिनमै रू. नौ लाखको चुरा बिक्री गरेको चुरा व्यापारीले बताएका छन् ।
जिल्लाको प्रत्येक गाउँठाउँका प्रत्येक घरका विवाहित तथा अविवाहित सबै महिलाले साउन महीना लागेपछि हरियो चुरा लगाउने गर्दछन् । महोत्तरीमा मात्रै साउन महीनाभर रू. ३० लाखभन्दा बढीको चुरा व्यापार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताए ।
जिल्लाको जलेश्वर, मटिहानी, बर्दिवास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायतका बजारबाट लिइएको जानकारी अनुसार साउनको पहिलो दिनदेखि हिजो साँझसम्ममा जिल्लामा रू. नौ लाखको चुरा व्यापार भएको उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष विजयकुमार साहले जानकारी दिए ।
जलेश्वर बजारमा दैनिक चुरा बेच्दै आएका मुस्ताक लहेरीले आफूले तीन दिनमा रू. ५० हजारभन्दा बढीको चुरा बेचेको बताए ।त्यस्तै गौशाला बजारमा चुरा बेच्ने बेचनी खातुनले आफूले तीन दिनमा २५ हजारको चुरा बेचेको बताइन् । यसैगरी, बलबा बजारमा चुरा बेच्ने फुलगेन लहेरी, औरही बजारमा चुरा बेच्ने दुखनी खातुन, मनरामा चुरा बेच्ने हिरिया लहेरनीलगायतका चुरा व्यापारीले पनि तीन दिनभित्र आफ्नो पूँजीअनुसार रू. १५ हजारदेखि रू. २५ हजारसम्मको चुरा व्यापार गरेको बताएका छन् । रासस