काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको शेयर कारोबार पुस २७ देखि १५ दिन रोक्का हुने भएको छ । यी दुई बैंकले मर्जर प्रक्रिया पूरा गरी पुस २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै छन् ।
यी दुई बैंकका सञ्चालक समितिको आज बसेको बैठकले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९’ काे व्यवस्था अनुसार एकीकृत कारोबार शुरु हुने दिनदेखि १५ दिन शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
निर्देशिकामा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै संस्थाको एकीकृत वित्तीय कारोबारपछि बढीमा १५ दिन शेयर कारोबार रोक्का हुने व्यवस्था छ ।
यसअघि मर्जर तथा प्राप्ति सम्झौता गरेसँगै कम्पनीको कारोबार रोक्का हुने गरेको थियो ।