
काठमाडौं (अस) । उद्योगी व्यवसायीले जिम्मेवारीसहितको व्यावसायिक आचारसंहिताको आवश्यकतामाथि जोड दिएका छन् । नेपाल उद्योग परिसङ्घले डेनिस सरकारको सहयोगमा अन्तरराष्ट्रिय श्रम सङ्गठनद्वारा सञ्चालित ‘एड्भोकेसी फर राइट्स एण्ड गूड कर्पोरेट गभर्नेन्स’अन्तर्गतका परियोजना कार्यान्वयनको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सो कुरामा जोड दिएका हुन् ।
संयुक्त राष्ट्र सङ्घको यूएन ग्लोबल कम्प्याक्टका १० सिद्धान्त र बहुराष्ट्रिय प्रतिष्ठानको त्रिपक्षीय सम्झौता, हालै लागू गरिएको ‘श्रम ऐन, २०७३’ मा आधारित रही आचारसंहिताको निर्माण गरिएको परामर्शदाता यज्ञमान शाक्यले बताए ।
यस्तै, अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सामाजिक उत्तरदायित्वसहितको आचारसंहिता परिपालनमा आफ्नो उद्योग/व्यवसायले स्वतःस्फूर्त रूपमा व्यक्तिगत जिम्मेवारी बोधको अनुभूति हुने गरी आचारसंहिता तयार गरिएको र सो आचारसंहिता अन्तरराष्ट्रिय मूल्य मान्यता र स्थानीय वास्तविकताको आधारमा तयार गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा उद्योग परिसङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेश अग्रवालले उद्यमी व्यवसायीले अन्तरराष्ट्रिय मापदण्ड एवम् स्थानीय आवश्यकता र वास्तविकताअनुरूपको बहुुराष्ट्रिय प्रतिष्ठानसम्बन्धी आचारसंहिता लागू गरी असल कर्पोरेट सुशासनको अनुभूति दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । अन्तरराष्ट्रिय श्रम सङ्गठनका राष्ट्रिय कार्यक्रम निर्देशक नवीन कर्णले नेपाल अन्तरराष्ट्रिय श्रम सङ्गठनको विभिन्न कन्भेशनको हस्ताक्षरकर्ता भएको हुँदा प्रत्यक्ष रूपमा आचारसंहिता बृहत र लागू गर्नुपर्ने आवश्यकता र अनिवार्यता रहेको धारणा राखे । यो प्रयासले उद्यमशीलता र सुशासनमा भइरहेका सकारात्मक प्रयासलाई थप सबलीकरण गर्ने विश्वास परिसङ्घले लिएको छ ।