काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । यसरी पराजित हुनेमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार छन् ।
प्रदेश नं १ को पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए ।
मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार नौ सय ४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६ सय, सुनसरी–४ मा नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरे पनि पराजय भोग्नु पर्यो ।
त्यस्तै मधेश प्रदेशबाट सर्लाही–३ मा नेकपा (माओवादी केन्द्र)का नरेन्द्र साह कलवार ३२ हजार एक सय ६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी ३० हजार ५६ मत ल्याएर पनि पराजित भए ।
बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार सात सय ३०, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार चार सय ८२, मकवानपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार चार सय ३२ मत प्राप्त भएर पनि पराजित हुनुपरेको छ ।
गण्डकी प्रदेशको लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार सात सय ९१ मत प्राप्त भयो तर उनी पराजित भए । नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्री ३४ हजार एक सय १० मत ल्याएर पनि हारे ।
यस्तै लुम्बिनी प्रदेशको गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवाली ३२ हजार एक सय ५२, अर्घाखाँची–१ मा कांगे्रसकी पुष्पा भुसाल (गौतम) ४० हजार नौ सय ४५, रुपन्देही–३ मा कांगे्रसका बालकृष्ण खाँण ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्ता ३८ हजार ६ सय ९७, प्युठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल ३५ हजार आठ सय १४ मत प्राप्त भए पनि पराजित भए ।
कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीले ३० हजार नौ सय ८८ मत ल्याए पनि चुनाव जित्न सकेनन् । सुदूरपश्चिम प्रदेशको बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । रासस