म्याग्दी (अस) । म्याग्दीमा पाक्न लागेको मकैबाली कागले सखाप पारेको छ । ग्रामीण क्षेत्रका किसानले लगाएको मकैबाली कागले सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाको बेनी नगरपालिका–२ डाँडाखेत र अम्बोट लगायत क्षेत्रमा पाक्नै लागेको मकै तथा सिमीलगायत तरकारी बालीसमेत कागले सखाप पार्न थालेको किसानहरूले बताएका छन् ।
डाँडाखेत र अम्बोट क्षेत्रमा मात्रै होइन खबरासम्म कागले पाक्नै लागेको मकैबाली खाएर र बोट ढलाएर नष्ट गरिदिएको स्थानीय किसान सुनिल सापकोटाले बताए । ‘हाम्रो मकै बाली कागले मासेर नष्ट गरिदियो, अब हामी उजुरी गर्न कहाँ जाने’, सापकोटाले भने ।
अम्बोट र डाँडाखेतको फाँटमा कागले सताउन थालेपछि बिहानदेखि बेलुकीसम्म मकै जोगाउन कुरेर बस्न थालिएको अर्का किसान डिलबहादुर सापकोटाले बताए । ‘बिहान उज्यालो हुने बित्तिकै खेतमा काग आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ’, उनले भने ।
कागले सिमी, बोडी, आलुका साथै अन्य तरकारी बालीमा समेत क्षति पु¥याएको उनको भनाइ छ । ‘हिउँदमा आलु जोगाउन मुश्किल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुश्किल परिरहेको छ’, उनले भने, ‘कागले मकै खाने तथा च्यातेर नष्ट पा¥यो, हामी त रुनु न हाँस्नुको अवस्थामा छौं ।’
डाँडाखेतदेखि अम्बोटसम्मको हजारौं रोपनी फाँटमा कागले मकै च्यातेर र मकैका बोट ढालेर नष्ट पार्न थालेपछि बगरफाँटको टाकुरा नजिकै बस्ने भीमबहादुर बिकले डाँडाखेतमा सानो झुपडी नै बनाएर काग धपाउन बसेका छन् । हुलका हुल काग आएर खेतबारीमा बाली नष्ट गर्ने गरेकोले बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उनको भनाइ छ ।
‘देशका अन्य क्षेत्रमा बाँदरले बालीनाली नष्ट गर्दा किसानहरूले राहत तथा क्षतिपूर्ति पाएका छन्, स्थानीय किसान सुनिल सापकोटाले भने ‘यहाँ कागले हजारौं रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ, त्यसैले नगरपालिका वा वडाले यहाँका किसानलाई क्षतिपूर्ति दिनुपर्छ ।’