काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६४ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. १२ करोड ८४ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा रू. ४ करोड ६२ लाखमा झरेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दनी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेकोमा गत आवमा घटेर १२ रुपैयाँ ४२ पैसामा झरेको हो । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा रू. ३ करोड ६० लाख छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड २३ लाख छ । कम्पनीले जगेडामा रू. ११ करोड ३१ लाख र रिटेन्ट अर्निङमा रू. ६ करोड ९५ लाख सञ्चिति गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव २६ गुण र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ०७ छ ।