काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ११२ प्रतिशत वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा यो आवको साेही अवधिमा कम्पनीको खुद नाफा बढेको हो ।
गत आवको तेस्रो त्रैमाससम्म ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यो आवमा ६ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । याे आवमा कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम गत आवभन्दा यस आवमा ४ प्रतिशत कम ६५ लाख ७५ हजार रुपैयाँ छ । कुल सञ्चालन आम्दानी ४६ प्रतिशत बढी गरेको कम्पनीको अन्य सञ्चालन आम्दानी ३१ प्रतिशत बढी र खुद ब्याज आम्दानी करीब ४९ प्रतिशत बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २७ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म कम्पनीले ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा ४ दशमलव ९६ प्रतिशतदेखि बढेर ५ दशमलव २७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १ हजार २४३ रुपैयाँ ८० पैसा छ ।