काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले पुस ७ गतेदेखि तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो ।
दुवै कम्पनीले पठाएको स्पष्टीकरणका आधारमा नेप्सेले पुस ११ गते कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । कालिका पावरले समयमै लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्न लाग्दालाग्दै पनि प्राविधिक समस्या भई समयमै अपलोड नभएको स्पष्टीकरण पेश गरेको छ ।
मल्टीपर्पस फाइनान्सले नियतवश नभई भुलवश सूचना सार्वजनिकमा ढिलाइ भएको स्पष्टीकरण नेप्सेमा बुझाएको छ । दुवै कम्पनीले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेसँगै नेप्सेले सचेत गराउँदै कारोबार खुला गरेको जानकारी दिएको छ ।
पुस ६ गते बसेको कालिका पावर कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरणको निर्णय गरी पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर ३६ मिनेटमा र पुस ६ गते मल्टीपर्पस फाइनान्सको सञ्चालक समिति बैठकमार्फत गरेको लाभांशसम्बन्धी निर्णय पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर १८ मिनेटमा सार्वजनिक गरेका थिए ।
कालिका पावरले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६९ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । मल्टीपर्पस फाइनान्सले भने यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।