काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ७९ करोड ३५ लाख रुपैयाँ छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सभा चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । साथै माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।