काठमाडौं । नेपालमा परम्परागत धानखेतीबाट उत्पादन बढाउन मुश्किल भइसकेको छ । रासायनिक मल, कीटनाशक औषधि र नयाँ बीउ प्रयोग गरेमा मात्र उत्पादन बढाउन सकिन्छ । साधारण किसानलाई यी सबै व्यवस्था गर्न पनि सहज छैन । साथै रासायनिक पदार्थ प्रयोग गर्दा वातावरणमा हानि पुग्छ ।
नेपालका ६० प्रतिशत खेतीयोग्य जमीन अझै पनि आकाशे पानीको भरमा छ, जसकारण नेपाली कृषक कृषि उत्पादन कम भए पनि र बढी भए पनि भाग्यलाई जिम्मेवार ठान्ने गर्छन् । यस्तो हुनुको प्रमुख कारण कम पानी, बीउ तथा मल प्रयोगको प्रयोगबाटै बढी धान उब्जाउन सकिन्छ भन्ने ज्ञान सर्वत्र नपुगेकाले हो । एसआरआई प्रविधिबाट धानखेती गर्दापानी थोरै भए पनि पुग्छ, तर श्रम बढी लगाउनुपर्छ ।
धानखेतीको एसआरआई प्रविधि : शुरुआत र विकास
यस तरीकाको विकास सन् १९६१ मा भएको हो । यो प्रविधिको विकास फ्रान्सेली नागरिक हेनरी दी लाउलानीले गरेका हुन् भने दक्षिण अफ्रिकाको मडागास्करबाट यो प्रविधि शुरू भएको पाइन्छ । कर्नेल विश्वविद्यालयले यसलाई फैलाउन सहयोग गरेको थियो ।
धानखेतीबाट हुने फाइदा
यो प्रविधिबाट धान रोप्दा सिँचाइ कम भए पुग्छ । धान पातलो अर्थात् २५ सेमीको दूरीमा रोपिने भएकाले बिरुवाको जरा र पातले हावा र घाम प्रशस्त मात्रामा पाउँछ । बीउ पनि कम मात्र प्रयोग गरे पुग्ने र स्थानीय जातको बीउ प्रयोग गर्न मिल्ने भएकाले लाभदायी छ । सिँचाइ, हावा र घाम आदिको उचित व्यवस्थापन हुने भएकाले रोग र कीरा लाग्ने सम्भावना क्षीण हुन्छ । रासायनिक मल र विषादीको प्रयोगमा कमी हुने भएकाले कम लगानी मात्र गरे पुग्छ । यो प्रविधिमा धानको बोट लड्ने सम्भावना पनि निकै कम हुन्छ ।
- धान उत्पादन बढ्छ ।
- कम पानी भए पुग्छ ।
- राम्रो माटो र पानी व्यावस्थापन भएर रोगकीरा कम लाग्छ ।
- बढी गुणस्तरीय दाना फल्छ ।
- माटो बढी मलिलो हुन्छ ।
- बीउ कम भए पुग्छ ।
- थप बाहिरी स्रोत चाहिँदैन ।
- स्थानीय बीउ प्रयोग गर्न सकिन्छ ।