
काठमाडौं । डेढ दशक अगाडिसम्म पनि कम्प्युटर इन्ष्टिच्युटको कम्प्युटर रूममा जुत्ता लगाउन बन्देज थियो । कार्यालयहरूमा पनि कम्प्युटरलाई धूलो धूवाँबाट मात्र होइन, असम्बन्धित व्यक्तिको पहुँचबाट परै राखिन्थ्यो । तत्कालीन विज्ञहरूका अनुसार भाइरस नपसोस् भनेर यस्तो गरिएको हो ।
त्यो बेला भाइरस जुत्ताबाट र मान्छेबाट सर्छ भन्ने भ्रम थियो । त्यसैले, कम्प्युटरलाई अति नै जतन गरेर राखिन्थ्यो । तर, अहिले प्रयोगकर्ताले कम्प्युटर भाइरस फोहोरबाट होइन, ईमेल, इण्टरनेट वा पेनड्राइभबाट सर्छ भन्ने बुझिसकेका छन् । यसैले अहिले कम्प्युटर कक्षमा जुत्ता लगाएर जान पाइन्छ । तर, डेटाहरू पेनड्राइभमा सार्नुपर्यो भने भाइरस सर्ने हो कि भन्ने चिन्ता हुन्छ ।
कम्प्युटरमा भाइरस लागेर आजित नभएका कमै होलान् । कम्प्युटरमा काम गर्दा भोग्नुपर्ने साझा समस्या भाइरस आक्रमण हो । भाइरसले कम्प्युटर र ल्यापटपको काम गराइमा अवरोध पैदा गर्छ । यसबारे सबैलाई थाहा नै छ । भाइरस एउटा यस्तो प्रोग्राम वा सफ्टवेयर हो, जसले अत्यावश्यक सफ्टवेयरलाई बिगार्ने र काममा अवरोध पैदा गर्छ ।
सन् १९८६ मा कम्प्युटर जगत्मा प्रथमपटक भाइरस देखा परेको थियो । फ्लपी डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आक्रमण गर्दथ्यो । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेनले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तŒवलाई कम्प्युटर भाइरस नामकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा सो ब्रेन भाइरसको निर्माण भएको थियो ।
कम्प्युटर भाइरसले त्यहाँ भएका डेटा तथा प्रोग्रामहरू नष्ट गरिदिन्छ । यस्तै, अनावश्यक फाइल क्रिएट गर्दै कम्प्युटरको प्रोशेसरलाई पनि सुस्त बनाइदिन्छ । यसले गर्दा कम्प्युटरको समग्र कार्यप्रणालीमा असर पुग्छ । कुनै भाइरसले कम्प्युटर प्रोग्राम खोल्नासाथ बन्द गरिदिन्छ । धेरैजसो भाइरसले आवश्यक फाइल थाहै नदिई उडाइदिन्छ । कुनै भाइरसले कम्प्युटर नै अटोमेटिक रूपमा बन्द गरिदिन्छ भने कतिपयले कम्प्युटरका हार्डवेयर डिभाइसहरूले नै काम नगर्ने बनाइदिन्छन् ।
भाइरस लागेको कसरी थाहा पाउने ?
नियमित रूपमा खुलिरहेको प्रोग्राम खुल्न बढी समय लाग्न थाल्यो र कम्प्युटरको कार्यक्षमता घट्न थाल्यो भने भाइरस लागेको हो कि भनेर आशङ्का गर्नुपर्ने हुन्छ । कम्प्युटरमा इरर म्यासेज देखाउँछ भने पनि भाइरसले आक्रमण गरेको हुन सक्छ ।
नचाहेका फाइल आफै खुल्ने तथा मेमोरी फुल हुँदै गयो भने भाइरस लागेको हुन सक्छ ।
कहिलेकाहीँ कम्प्युटरमा सर्टकट फाइल आफै बन्छ । त्यस्तो फाइल अनावश्यक रूपमा सेभ हुन जान्छ भने पनि भाइरसले कम्प्युटरमा आक्रमण गरेको हुन सक्छ ।
भाइरस लाग्नुका कारण
वास्तवमा भाइरस एउटा अनैतिक व्यापार हो । भाइरस पठाएर अनैतिक लाभ लिन दैनिक हजारौं मान्छे सक्रिय हुन्छन् । उनीहरूले ईमेलमार्फत र विभिन्न वेबसाइटमार्फत भाइरस फैलाइरहेका हुन्छन् । थाहा नभएका वेबसाइट खोल्ने, जो कोहीले पठाएका ईमेल खोल्ने र बजारबाट किनेर ल्याएका अनधिकृत गेमहरूका सीडीबाट गेम खेल्दा पनि भाइरसले आक्रमण गर्न सक्छ । सङ्क्रमणयुक्त पेनड्राइभ, मेमोरी कार्डलगायतबाट फाइल सार्दा समेत भाइरस सर्छ ।
इण्टरनेटबाट अनावश्क सफ्टवेयर डाउनलोड गर्दा, प्राइभेट सफ्टवेयरहरू कपी गर्दा, नेटवर्कबाट डाटाहरू एक्सचेञ्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।
भाइरस भएका कम्प्युटर कसरी फाष्ट बनाउने ?
कम्प्युटर स्लो हुनुको प्रमुख कारणमध्ये एउटा भाइरस आक्रमण हो । कम्प्युटरमा देखिने सबैभन्दा प्रमुख समस्या भाइरस आक्रमण हो । भाइरस लागेको आशङ्का हुनेबित्तिकै कम्प्युटरलाई स्क्यान गरमा भाइरस हट्छ र केही हदसम्म भए पनि कम्प्युटर छिटो हुन्छ । भाइरसका कारण भित्रभित्रै अनावश्यक प्रोग्राम चलिरहेका हुन्छन् । यसले गर्दा कम्प्युटर सुस्त हुन्छ । भाइरसकै कारण कम्प्युटरमा राखिएका आवश्यक डकुमेण्ट हराउने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो समस्या समाधानका लागि स्क्यान डिस्क प्रोग्रामलाई रन गर्नुपर्छ । कम्प्युटरमा रहेको स्क्यान डिस्क प्रोगामलाई समय–समयमा रन गर्दा गति बढाउन र अन्य समस्या पनि नियन्त्रण सकिन्छ ।
घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ ससाना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफै स्लो हुन्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर ह्याङ हुनेजस्ता समस्या नियमित हुन्छन् । यसका लागि एण्टी भाइरसबाट स्क्यान गर्ने र कम्प्युटरमा जडित प्रोग्रामबाट समय–समयमा स्क्यान गरिराख्नुपर्छ ।
कम्प्युटरमा कतिपय टेम्पोररी फाइल सेभ भएर बस्छन् । यसले कम्प्युटरमा भार बढी पर्छ र स्लो हुन्छ । यस्तो समयमा कम्प्युटरमा हुने टेम्पोररी फाइल हटाएर पनि कम्प्युटर फाष्ट बनाउन सकिन्छ ।
हामीले डिलिट गरेका अनावश्यक फाइल रिसाइकल बिनमा गएर बस्छन् । यसले गर्दा कम्प्युटरको गतिमा असर गरिरहेको हुन्छ । त्यसैले, रिसाइकल बिनमा भएका फाइल पनि खाली गर्नुपर्छ । डेस्कटपमा पनि अनावश्यक फाइल राख्नु हुँदैन ।
प्रयोगमा नआउने सफ्टवेयर तथा प्रोगाम पनि हटाउनुपर्छ । अनावश्यकने सफ्टवेयरले पनि कम्प्युटरलाई स्लो गर्नुका साथै अन्य खराबी पनि ल्याउन सक्छ ।
इण्टरनेट चलाउँदै गर्दा अनावश्यक प्रोग्राम डाउनलोड गर्दा पनि कम्प्युटर स्लो हुन्छ । त्यसैले, आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।