कात्तिक ४, गलकोट(बाग्लुङ) । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बाग्लुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ ।
बाग्लुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् ।
कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती शुरु गरेका छन् । उनले २० लाख रुपैयाँ लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् ।
विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले यो खेती शुरु गरेको बताए। शुरुमा चितवनबाट १ हजार ५०० बिरुवा ल्याएर खेती शुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उनी बताउँछन्।
‘शुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीं गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ’, उनले भने, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीं व्यवसायी बन्ने लक्ष्य छ ।’
थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको बताए। उनले बारीमा लगाएका ड्रागन अहिले ५ महीनाका भए । अबको १५ महीनापछि यी विरुवाले फल दिन शुरु गर्ने उनी बताउँछन् ।
अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० रुपैयाँ पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र शुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने उनी बताउँछन् ।रासस