काठमाडौं । चालू आर्थिक वर्ष (आव) को बजेटमार्फत कृषि लगानी दशक घोषणा गरेको सरकारले लगानी दशकको लक्ष्य र गर्ने क्रियाकलाप भने तय गर्न सकेको छैन । सरकारी अधिकारीका अनुसार हाल यससम्बन्धी अवधारणापत्र तयार गर्ने काम भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटी मन्त्रालयले यससम्बन्धी अवधारणापत्र तयार पार्ने काम गरिरहेको बताउँछिन् ।
‘सन् २०२५ सम्ममा यो अवधारणापत्र तयार गर्ने योजना छ,’ उनले भनिन्, ‘अबको १ दशकमा मुलुकको समग्र कृषिक्षेत्रमा लगानीको ढाँचा कस्तो हुने भन्ने कुरा अवधारणापत्रमा उल्लेख हुनेछ ।’
कृषि लगानी दशकलाई राष्ट्रिय अभियानका रूपमा अघि सार्दै यति बेला मन्त्रालयले निर्वाचित जनप्रतिनिधि, विभिन्न कृषि संगठनहरू र सरकारी, निजी, सहकारी तथा विकास साझेदारसँग छलफल तथा समन्वय गर्नुका साथै प्रतिक्रिया लिएर अवधारणापत्र तयार गरिरहेको शिवाकोटीले बताइन् ।
- अवधारणापत्र तयार गर्दै सरकार
- कृषि विधेयक सरकारको प्राथमिकतामा
- चालू आर्थिक वर्षमा कृषिमै बजेट घट्यो
- गैरआवासीय नेपालीलाई भ्रष्टाचारमा अनुसन्धान
अवधारणापत्र विकास गरिरहँदा सरकारको प्राथमिकता कृषि विधेयक पारित गर्नेतर्फ पनि रहेको उनले बताइन् । विधेयक पारित भएपछि लगानी दशक अघि बढाउन अझ सहज हुने उनको विश्वास छ ।
कृषि विधेयक भने करीब डेढ वर्षदेखि प्रारम्भिक मस्यौदा लेखनको अलमलमै छ । २०७९ चैतदेखि लेख्न थालिएको प्रारम्भिक मस्यौदाको काम अझ सकिएको छैन । मन्त्रालयका अनुसार सरोकारवालासँगको छलफल सकाएर विधेयकका रूपमा मन्त्रिपरिषद् लैजान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्राप्त गर्ने काम भइरहेको छ ।
कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्न भन्दै सरकारले चालू आवको नीति तथा कार्यक्रम र बजेटमार्फत २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको थियो । सरकारी, निजी, सहकारी तथा विकास साझेदारमार्फत कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्ने सरकारको योजना छ ।
अनौठो कुरा के छ भने सरकारले लगानी दशक घोषणा गरेकै वर्ष कृषिक्षेत्रको बजेट घटाएको छ । गत आवको तुलनामा चालू आवमा सरकारले कृषिक्षेत्रको बजेट घटाएको छ । कृषिक्षेत्रको चालू वर्षको बजेट अघिल्लो आवको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम छ । गत आव कृषिक्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले चालू वर्षमा ५७ अर्ब २९ करोड मात्र छुट्ट्याएको छ ।
मन्त्रालयका अनुसार सरकारले कृषिक्षेत्रमा निजीक्षेत्रको लगानी वृद्धि गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको अन्त्यसम्ममा नेपालको बैंकिङ प्रणालीमार्फत कृषिक्षेत्रमा १३ दशमलव १२ प्रतिशत मात्रै लगानी भएको छ ।
यसलाई बढाएर १५ प्रतिशतसम्म पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । सहकारी क्षेत्रबाट समेत कृषिक्षेत्रमा लगानी भए पनि यसको भरपर्दो तथ्यांक नभएको मन्त्रालयले बताएको छ । कृषिसचिव दीपककुमार खरालले कृषिमा लगानी दशकमार्फत गरीबी निवारण, कृषिमा युवाको नेतृत्वदायी भूमिका, जलवायु परिवर्तनले कृषिक्षेत्रमा पारेको प्रभाव न्यूनीकरण, कृषिक्षेत्रको अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नेजस्ता कार्यक्रम समेटिने बताए ।
उनका अनुसार लगानी दशकले समग्र कृषिक्षेत्रको विकासका लागि काम अघि बढाउने र त्यसले अहिले कृषिक्षेत्रमा भइरहेको व्यापारघाटा कम गर्नसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्रालयका अनुसार अहिले नेपालको कृषिक्षेत्रको व्यापार घाटा १ खर्ब ६३ अर्ब ५३ करोड २७ लाख रुपैयाँ छ ।
नेपालको कृषिक्षेत्र व्यवसायीकरणको बाटोमा हिँड्न नसक्दा बाँझो जमीनको क्षेत्रफल बढ्दो क्रममा छ । मन्त्रालयको तथ्यांकअनुसार अहिले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमीन बाँझो छ । नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमीन छ । त्यसमध्ये ३० लाख ९१ हजार हेक्टरमा खेती हुन्छ ।