काठमाडौंका न्ह्योखाकी रत्ना महर्जनलाई आफैले उत्पादन गरेर तरकारी खाने ठूलो इच्छा थियो । काठमाडौंमा शहरीकरण भएपछि तरकारी उमार्न नपाएकी उनी तब खुशी भइन्, जब भृकुटीमण्डपमा आयोजित एग्री टेक मेला पुगिन् । जग्गा नभएपछि तरकारीखेतीको सकसक मेट्न उनले गमलामा तरकारी रोप्ने प्रयास नगरेको पनि होइन, तर प्रविधि र प्रक्रिया मिलाउन नजान्दा असफल भइन् । बाल्टिन, बोरा र प्लाष्टिकका बाटामा समेत तरकारी लगाएकी उनले सोचेअनुसार उत्पादन लिन सकिनन् ।
कृषि मेलामा पुगेपछि महर्जनले ड्रममै सजिलै तरकारी उमार्न सकिने तरीका थाहा पाइन् । तरकारी उमार्न चाहिने मलखाद, माटो र गोडमेलबारे थाहा पाउन फोन गर्नुपर्ने र पुस्तक खोजीखोजी पढ्नुपर्ने बाध्यताको अन्त्य भएको महसूससमेत उनले गरिन् । ‘प्रविधिले फड्को मारिसकेको रहेछ,’ उनले भनिन् ।
मेला स्टलमै डाटा अन गरी महर्जनले स्मार्ट कृषि, कृषि गुरु, किसान गुरु, कृषि घरलगायत एप डाउनलोड गरिन् । ढुक्क हुँदै उनले भनिन्, ‘अब घरमा बसी–बसी तरकारीखेती गरिन्छ । रामेछापमा रहेका आफन्तलाई पनि एप हेरेर आधुनिक कृषि सिकाइन्छ ।’
प्रविधिमार्फत कृषि जानकारी
डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनएएमआइएस डट जीओभी डट एनपीमा एकीकृत बालीपात्रो, हाम्रो कृषि मोबाइल एप, प्रश्न उत्तरलगायत विभिन्न प्रकाशन पढ्न सकिन्छ । सरकारले एसएमएस सेवा, साप्ताहिक कृषि–मौसम सल्लाह बुलेटिन, हाम्रो कृषि मोबाइल एप र किसान कल सेण्टर स्थापना गरी किसानलाई प्रविधिमैत्री सेवा प्रदानमा सहजीकरण गरिरहेको छ । अहिले विभिन्न गैरसरकारी संस्थाले मोबाइल फोनको प्रयोग गरी किसानलाई मौसमी सूचना, वर्षाको अग्रिम जानकारी, बजार भाउ र रोगकीराबाट बच्ने उपाय सिकाउँदै आएको छ । जलवायु परिवर्तनसँगै नयाँ–नयाँ रोग र कीराको प्रकोपबाट आक्रान्त किसानलाई मद्दत गर्न कृषि विभागअन्तर्गत बाली संरक्षण निर्देशनालयले ई–प्लाण्ट क्लिनिक सञ्चालन गर्दै आएको छ ।
सरकारी र गैरसकारी सङ्घसंस्थाबाट नेपाली कृषिक्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित ई–एग्रिकल्चर सेवा उपलब्ध गराए पनि यसमा पहिलो पुस्ताका किसान प्रविधिमा जानकार नहुँदा छोरानातिको सहायता लिन बाध्य छन् । कृषि तथा पशुपालनलाई लक्षित अनलाइनसमेत उपलब्ध हुन थालेका छन् । यिनमा न्यूजएग्रो डट कम, आरएनडीइन्नोभेटिभ डट कम डट एनपी, कृषकखबर डट कम, नेपाली किसान डट कम, कृषिपोष्ट डट कम, भेटटाइम्स डट कम, कृषिअभियान डट कमलगायत छन् ।
फेसबूकमै कृषि घर, युवा कृषक समूह नेपाल, कृषि तथा पशु प्राविधिक सञ्जाल, नार्क–विकासका लागि अनुसन्धान, कृषि क्लब नेपाल, किसानी कुरा समूह उपलब्ध छन् । स्मार्टफोनमा प्रयोग गर्न मिल्ने मोबाइल एप हाम्रो कृषि, स्मार्ट कृषि, कृषि घर, आईएफए कृषिलगायत एप पनि किसानमाझ लोकप्रिय छन् ।
उपयोगी केही एप्स
कृषि गुरु
आईसीटी फर एग्रीले कृषिमा आधुनिक युग शुरू, हात हातमा कृषि गुरु नामक एप ल्याएको छ । नेपालका १५ भन्दा बढी जिल्लाका कृषकलाई एसएमएसमार्फत सूचना प्रदान गर्दै आएको सो कम्पनीले कृषि सूचना सेवालाई अझ सर्वसुलभ र स्तरीय बनाउन कृषि गुरु मोबाइल एप ल्याएको हो । यो एपमा कृषिसम्बन्धी जिज्ञासा राख्न र कृषि विज्ञबाट समाधान पाउन कृषि जिज्ञासा फोरम छ । यसैगरी कृषि बजार शीर्षकमा अलैंची महासङ्घद्वारा जारी ३ ग्रेडको अलैंची मूल्यलगायत नेपालका १५ भन्दा बढी कृषि बजारको दैनिक अपडेट समावेश छ । व्यावसायिक खेती प्रविधि शीर्षकअन्तर्गत बाख्रापालन, कुखुरापालन, ड्रागनफ्रुट, किवी, अलैंची, एभोकाडोलगायतको जानकारी लिन सकिन्छ । यसैगरी आधुनिक व्यावसाियक कृषिका लागि चाहिने गुणस्तरीय मल, बीउ, विषादी, थोपा सिँचाइ, नेट, ग्रीनहाउस आदिको परिचय, नजीकै पाइने स्थान, मूल्य तथा विक्रेताको जानकारी कृषि औजार र सामग्री शीर्षकमा हेर्न सकिने गरी एप बनाइएको छ । यो एप्समा संस्थागत तालीम तथा अनुदानको जानकारी ताजा कृषि समाचार, कृषिसम्बन्धी भिडिया, तीनदिने मौसम पूर्वानुमान, मलखाद र जग्गा मापक जानकारी पनि पाउन सकिन्छ ।
कृषि घर
इण्टरनेट सुविधाको प्रयोग गरी मोबाइलबाटै किसानलाई कृषि प्रविधि, सूचना तथा जानकारी पठाउने प्रविधि कृषि घर एप्स शुरू गरिएको छ । किसानले कुनै पनि एण्ड्रोइड मोबाइल सेटमा सेवाप्रदायक निकायबाट किसानका लागि समय र स्थान सान्दर्भिक पठाइएका उपयोगी कृषि प्रविधि, सूचना तथा जानकारी टेक्ष्ट म्यासेजको रूपमा प्राप्त हुन्छ । अफलाइन मोडमा समेत पहिलेका म्यासेज पढ्न सकिने सुविधाले गर्दा किसानलाई अनलाइन बस्नुपर्दाको खर्च र समय बचत हुन्छ । सेवाप्रदायक निकायबाट पठाइएका २० ओटासम्म म्यासेज सेवाग्राहीको मोबाइलमा सेभ भएर बस्ने र किसानलाई आवश्यक पर्ने महŒवपूर्ण म्यासेज बूकमार्क गरी स्टोर गरी राख्न सकिने र आवश्यक परेका बखत हेर्न सकिने समेत व्यवस्था छ ।
कृषि घर एप्सले भेटेरिनरी डाक्टर, पशु विकास अधिकृत, बागबानी विकास अधिकृत, बाली संरक्षण अधिकृत, मत्स्य विकास अधिकृत, बाली विकास अधिकृत, कृषि प्रसार अधिकृत, कृषि प्राविधिक, पशु सेवा प्राविधिकहरूसँग सीधै आवश्यक प्राविधिक सल्लाह र परामर्श लिन सहयोग पु¥याउँछ । यो एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन्न समस्याको समाधान, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रासायनिक मल तथा विषादीको उचित प्रयोग, पशुमा लाग्ने रोगका लक्षण र व्यवस्थापन प्रविधि, कृषि बजारको जानकारी, मौसमको पूर्वजानकारी जस्ता अत्यावश्यक जानकारी मोबाइलमार्फत दिन्छ ।
कृषिका सानातिना समस्या कार्यस्थलमै बसेर समाधान गर्न सकिन्छ । यो एप्समा बालीसम्बन्धी, रोगकीरा नियन्त्रण, रासायनिक मल, विषादीको उचित प्रयोग, बाली व्यवस्थापन, मौसम, कृषि डायरीलगायत फिचर छन् ।
हाम्रो कृषि
कृषि विकास मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले ‘हाम्रो कृषि’ एप्लिकेशन सञ्चालन गरेको छ । एप्समा कृषि बीमा अभिकर्तासम्बन्धी जानकारी र सफलताका कथा छन् । त्यसैगरी पशुपालन, तरकारी, फलफूल, तेलहनलगायत सबै बालीका बारेमा प्रश्नोत्तर शैलीमा जानकारी दिइएको छ । एण्ड्रोइड स्मार्टफोनमा चल्ने यो एप्समा कुन क्षेत्रमा कस्तो बाली, कति, कस्तो मल छर्नेलगायत पनि जानकारी पाइन्छ । आयोजनाले कृषकलाई घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी गराउन नयाँ प्रणालीसमेत जडान गरेको छ, जसमा ‘कृषि इन्फो’ नामबाट एसएमएस पठाइन्छ । यसरी पठाइने एसएमएसको लागि कृषकको मोबाइल नम्बर जिल्ला कृषि विकास कार्यालयमार्फत सङ्कलन गरिन्छ ।
स्मार्ट कृषि
गूगल एप्स स्टोरमा उपलब्ध स्मार्ट कृषि एप्स एण्ड्रोइड फोनमा उपलब्ध छ । एप्समा उच्च मूल्य पाउने तर उत्पादन कम हुने वस्तु तथा पशुको सम्बन्धमा जानकारी गराइएको छ । सञ्चालन भएको केही वर्षमात्र भएको यो एप्सको कृषि लाइब्रेरीमा अग्र्यानिक खेतीसम्बन्धी, फलफूल तथा मसलाका पौष्टिक गुण, घाँसखेतीसम्बन्धी जानकारी दिइएको छ । त्यस्तै, स्थानीयस्तरमा दाना उत्पादन गर्ने, विभिन्न रोगको घरेलु उपचार, मल बनाउने विधिसमेत उपलब्ध छ । व्यावसायिक कृषि विकासका लागि स्मार्ट कृषि नेपालले उक्त एप्सको विकास गरेको हो ।
कृषि उद्यम बजार
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्र र कृषि विकास मन्त्रालयअन्तर्गत एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको संयुक्त प्रयासमा ‘कृषि उद्यम बजार’ एप्स सञ्चालनमा छ । एप्समार्फत केन्द्रले सङ्कलन गरेको सूचनाका आधारमा देशका ४० भन्दा बढी कृषि बजारमा खरीदविक्री हुने कृषि वस्तुको दैनिक थोक मूल्य विवरण राखिएको छ । साथै, बजारमा वस्तुको मूल्य, उतारचढाव, विक्री गर्ने ठाउँलगायत विषय समेटिएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.