काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते ७६ औं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँको आधारमा १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिइनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।