काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले लामाबगर-बाह्रबिसे २२० केभी प्रसारण लाइन निर्माण गर्न लगानी सहित साझेदारीमा संलग्न हुन इच्छुक भएमा सोको आशयपत्र १५ दिन भित्र कम्पनीमा पेश गर्न सूचना जारी गरेको छ ।
गत मंसिर २ गते सरकार र निजी क्षेत्रका पाँच प्रवर्द्धक कम्पनीहरू बिच तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि सम्झौता भएपछि प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश गरेको थियो । त्यसयता यो लामाबगर-बाह्रबिसे २२० केभी प्रसारण लाइन निर्माणमा निजी साझेदारको लागि आशयपत्र माग गरिएको दोस्रो पटक हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले निजी क्षेत्र पनि आउन इच्छुक भए सहभागी गराउन यो आशयपत्र माग गरिएको बताए । 'हामिले आशयपत्र माग गरेका छौं । निजी क्षेत्र पनि आउँछौँ, इच्छुक छौ भन्छन् भने सहभागी गराउने हो । यसमा सहभागी भएमा निजीक्षेत्र सहभागी हुने यो दोस्रो परियोजना हुनेछ ।'
यो परियोजनाको लागि झन्डै ५ अर्व लाग्ने अनुमान गरिएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार यो प्रसारण लाइन निर्माण भए ५ ओटा विद्युत आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न सहयोग पुग्नेछ ।
ह्विलिङ चार्जको पनि कम्पनीले खाका बनाए उनले बताए । यसबाहेक लगानी, शेयर संरचना, ऋण लगायतका बारेमा छलफल भइरहेको र पछि सम्झौताको समयमा यसबारे स्पष्ट हुने बताए ।
यो प्रसारण लाइन निर्माण गर्न आवस्यक सबस्टेशन जग्गा प्राप्तिको काम अगाडि बढेको छ भने तार मुनि पर्ने जग्गा मुअब्जा लगायतमा काम पनि सँगसँगै हुने बताइएको छ । लामाबगरमा पुलिङ सबस्टेशन हुनेछ भने त्यसलाई बाह्रबिसेमा रहेको प्राधिकरणको सबस्टेशनमा जोड्ने योजना छ ।