काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा रियल सेक्टरका कम्पनीको आकर्षण बढ्न थालेको छ । यो सेक्टर (उत्पादन तथा प्रशोधन समूह)का १६ कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
ती कम्पनीहरूले कुल रू. २२ अर्ब ७२ करोड बराबरको ९ करोड २४ लाख ५५ हजार ६८४ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनको अनुमति पर्खिरहेका छन् ।
सरकारले एक दशकदेखि बजारमा वास्तविक क्षेत्रका कम्पनी ल्याउन विभिन्न उपाय खोजे पनि त्यस अनुरूपको नतिजा विस्तारै देखिन थालेको यसबाट पुष्टि हुन्छ ।
हाल धितोपत्रको दोस्रो बजारमा भने यस समूहका सूचीकृत कम्पनीको संख्या न्यून छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २६७ कम्पनीहरूमध्ये उत्पादन तथा प्रशोधन समूहमा ९ ओटा मात्रै छन् ।
वास्तविक क्षेत्रका कम्पनीहरूलाई शेयर बजारमा भित्र्याउन नियामक निकायहरूले सहजीकरणसँगै सहुलियतपूर्ण व्यवस्था लागू भएपछि यस क्षेत्रका कम्पनीहरू पनि शेयर बजारमा आउन इच्छुक देखिएका हुन् ।
हाल सेबोनमा निवेदन दिने उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूमध्ये ५ ओटाले प्रिमियम मूल्यमा, १० ओटाले अंकित मूल्यमा र १ ओटाले प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको उल्लेख गरेका छन् । तीमध्ये जगदम्बा स्टील्सले सबैभन्दा धेरै २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेको छ । कम्पनीले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ३ सय रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ ।
त्यस्तै, शौर्य सिमेन्टले प्रिमियम मूल्यसहित प्रतिकित्ता रू. २६४ दशमलव ५१ मा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेको छ ।
त्यसैगरी, मारुती सिमेन्ट्सले प्रिमियमसहित प्रतिकित्ता ३७७ मा १ करोड १६ लाख कित्ता, रिद्धि सिद्धि सिमेन्टले प्रतिकित्ता रू. २१४ दशमलव १० र अम्बे स्टिल्सले रू. ३०३ मा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छन् ।
यी कम्पनीहरूले सेबोनबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछन् । यीमध्ये अधिकांश कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने निवेदनमा उल्लेख गरेका छन् ।
आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिने रियल सेक्टरका १६ कम्पनी
कम्पनीको नाम | आईपीओ कित्ता | विक्री प्रबन्धक |
जगदम्बा स्टिल्स | २,००,७०,००० | सिद्धार्थ क्यापिटल |
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड | १,५९,८१,५०० | नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग |
रिद्धि सिद्धि सिमेन्ट | १,२१,७१,५०० | एनआइएमबि एस क्यापिटल |
मारुती सिमेन्ट्स | १,१६,००,००० | नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग |
अम्बे स्टिल्स | १,११,९२,७२७ | नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग |
पाल्पा सिमेन्ट | ७५,००,००० | नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग |
एसवाई प्यानल नेपाल | ५२,३२,५४८ | प्रभु क्यापिटल |
ओम मेगाश्री फर्मास्यूटिकल्स | १८,००,००० | प्रभु क्यापिटल |
भूगर्भ सिमेन्ट | १२,६२, ५०० | नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग |
सोपान पर्मास्युटिकल्स | ११,००,००० | एनमबि क्यापिटल |
लक्ष्मी टेक्नो प्लाष्ट | १०,००,००० | नेपाल एसबिआई मर्चेण्ट |
श्री डिष्टिलरी | ९,६०,००० | प्रभु क्यापिटल |
सागर डिष्टिलरी | ७,९२,००० | मुक्तिनाथ क्यापिटल |
एक्क्र्ड फर्मास्युटिकल्स | ७,०६,९०९ | ग्लोबल आइएमई क्यापिटल |
एभरेष्ट क्लर लिमिटेड | ७,८०,००० | मुक्तिनाथ क्यापिटल |
स्मार्ट डोर्स | ३,०६,००० | मुक्तिनाथ क्यापिटल |
कुल कित्ता | ९,२४,५५,६८४ |
स्रोत : सेबोन