काठमाडौं । नागरिक लगानी कोषले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको १३ प्रतिशत लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउनेछन् ।
कोषले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कोषले पुस २९ गते कोषको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा गर्न लागेको छ ।
उक्त सभा प्रयोजनका लागि कोषले यही पुस २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा यही पुस २१ गते (आज)सम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन् ।