काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक ५ दशलमव ३२ अंक बढेको छ । यससँगै नेप्से २ हजार ५९१ दशमलव ५६ विन्दुमा कायम भएको छ ।
आजसँगै नेप्से लगातार तीन कारोबार दिन बढेको छ । याे अवधिमा नेप्से जम्मा १५ दशमलव ०५ अंक मात्रै बढेको छ ।
यसले बजार सुस्त गतिमा हिँडेको देखाउँछ । पछिल्लो केही दिनयता नेप्से करीब २६ सय विन्दुको नजिक छ ।
यो अवस्थामा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको जानकार बताउँछन् । यही कारण बजार सुस्त देखिएको उनीहरूको भनाइ छ ।
यस दिन सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ ।
आज ३२७ धितोपत्रको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर ६१ हजार १६७ पटकमा रू. ४ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेन्चर्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । उपकार लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ८४०, दोर्दी खोला जलविद्युत कम्पनीको रू. ५८० दशमलव ८० र ग्रीन भेन्चर्सको रू. ५३३ दशमलव ५० पुगेको छ ।
आइतवार नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ८८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४७ दशमलव ७० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यो कम्पनीको शेयर मूल्य ६ दशलमव ८५ प्रतिशत घटेर रू. ६ हजार १२० मा कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ९ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७ सय कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिभर फल्स पावर छ । कम्पनीको रू. १७ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये आठ समूहको सूचक बढेको छ भने पाँच समूहको सूचक घटेको छ । तीमध्ये जलविद्युत् समूहको सूचक सबैभन्दा बढी १ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०४ प्रतिशत घटेको छ ।