काठमाडौं । पुस मसान्त नजिकिँदै गर्दा सूचीकृत कम्पनीहरूलाई वार्षिक साधारण सभा सम्पन्न गर्ने चटारो रहेको छ । पुसको अन्तिम दिन २९ गते मात्र ५६ कम्पनीहरूले वार्षिक साधारण सभा गर्न लागेका हुन् । कम्पनीहरूले जारी गरेको सूचनाका आधारमा १५० भन्दा बढी कम्पनीले पुस २४ गतेदेखि २९ गतेसम्म साधारण सभा सम्पन्न गर्दैछन् ।
कम्पनी ऐन २०६३, को व्यवस्था अनुसार पब्लिक कम्पनीका रूपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाबमोजिम अधिकांश कम्पनीहरूले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न लागेका हुन् । पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरूले जरिवाना समेत तिर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थाबाट बच्न र सूचीकृत कम्पनीहरू खराब बर्गमा नपर्न पुस मसान्तभित्रै साधारण सभा सक्न लागिपरेका हुन् ।
एकै दिन धेरै कम्पनीको साधारण सभा हुँदा लगानीकर्तालाई भने सास्ती भएको छ । साधारण सभाका वक्ताका रूपमा रहेका केही लगानीकर्ताहरू एकै दिन धेरै कम्पनीको साधारण सभा पर्दा आफ्ना कुरा राख्ने अवसर गुम्ने गरेको बताउँछन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरे चार दशकभन्दा बढी समयदेखि पूँजीबजारमा लगानीकर्ताको रूपमा सक्रिय छन् । उनीसँग सूचीकृत अधिकांश कम्पनीको शेयर रहेकाले सबै कम्पनीमा गएर कम्पनीको वारेमा जान्न चाहान्छन् भने आफ्ना सुझाब पनि कम्पनी समक्ष राख्न चाहान्छन् । तर, एकै दिन ५६ कम्पनीको वार्षिक साधारण सभा परेको दिन एक वा दुईभन्दा बढी कम्पनीको साधारण सभामा मात्र सहभागी हुन पाउने भएकाले अन्य कम्पनीमा उक्त अवसर गुम्ने गुनासो घिमिरेले गरे ।
‘वार्षिक साधारण सभा भनेको वर्षभरिका गतिविधिमाथि शेयरधनीहरूसँगै बसेर छलफल गर्ने अवसर हो,’ घिमिरेले भने, ‘एकै दिन साधारण सभा जुधाएर लगानीकर्तालाई उक्त अवसरबाट वञ्चित गराउनु कत्तिको जायज हो ? चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने अवधि हुन्छ ।’ यो अवधिभित्र धेरै कम्पनीको साधारण सभा नजुध्ने गरी आह्वान गर्न पनि घिमिरेले सुझाव दिएका छन् ।
घिमिरेले यसरी साधारण सभा गर्नुको औचित्य शेयरधनीहरूको लागि भन्दा पनि कम्पनीले वार्षिक साधारण सभा गर्नुपर्ने बाध्यात्मक अवस्थामा औपचारिकताका लागि मात्र गर्ने गरेको पुष्टि हुने प्रतिक्रिया दिए ।
अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले पनि एकै दिन धेरै कम्पनीको साधारण सभा आह्वान हुँदा आफूजस्ता साधारण सभाका वक्ताले धेरैमा सहभागी हुन नपाएको गुनासो गरे । शेयरधनीहरूले वर्षदिनमा कम्पनीको अवस्थाको बारेमा जान्न र बुझ्न पाउने अवसरबाट एकै पटक धेरै कम्पनीले साधारण सभा गरेर आफूहरूलाई वञ्चित गरेको भनाई श्रेष्ठको छ । यो समस्याको विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयदेखि अन्य नियामक निकायहरूले समेत ध्यान दिनुपर्ने माग उनले गरे । एकै दिन ५६ कम्पनीको साधारण सभा आह्वान गर्दा सभामा पुग्नु पर्ने गणपूरक संख्या वास्तविकरूपमै पुगे/नपुगेको यकिन गर्नसमेत उनले सुझाव दिए ।