काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा मागभन्दा ९ दशलमव ५१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलवार बिहान १०ः ७ बजेसम्ममा १२ लाख ९९ हजार ४१३ जनाले १ करोड ७५ लाख ५९ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भोलि (बुधवार)सम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी माईनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो । अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । हाल संस्थापकतर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत कायम छ । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गरेको हो ।