काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचक ६ दशमलव १६ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६४६ दशमलव ८४ विन्दुमा कायम भएको छ ।
आजसँगै नेप्से लगातार पाँच कारोबार दिन बढेको हो । सो अवधिमा नेप्से ७० दशमलव ३३ अंक बढेको छ ।
बजार यसअघि लामो समयसम्म 'करेक्सन' र 'साइडवेज'मा गइसकेको छ । यसकारण अब पुस मसान्त सकिएसँगै बजारले गति लिन सक्ने लगानीकर्ताको विश्वास छ ।
कारोबार रकम भने सोमवारको तुलनामा आज घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ३० करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ३८ करोडमा झरेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत वृद्धि भएको छ ।
आज ३०५ धितोपत्रको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । सप्तकोशीको शेयर मूल्य रू. १ हजार १५५ र न्यादीको शेयर मूल्य रू. ५८६ दशमलव ३० पुगेको छ ।
मंगलवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६ हजार ५८ दशमलव ८० र दोल्ती पावरको रू. ७५४ दशमलव २० मा झरेको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिन्धु विकास बैंकले ओगटेको छ । यस कम्पनीको रू. १६ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५३ दशमलव ९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको रू. १४ करोड ५९ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको सूचक बढेको छ भने चार समूहको घटेको छ । यस्तै एक समूहको सूचक स्थिर छ । वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।