काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले 'नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना' सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाडौँमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले योजना सार्वजनिक गरेका हुन ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा भएको कम्पनीले जनाएको छ ।
यसको न्यूनतम बीमाङ्क रकम रू पाँच लाख र अधिकतम बीमाङ्क रकम रु एक करोड रहेको छ । यस योजनामा सहभागि हुनन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने प्राबधान राखिएको छ । बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।
यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधि सम्म लिन सकिने छ । योजना अन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिने तथा बीमालेख स्वत : अन्त्य हुने जनाइएको छ ।
कार्यक्रममा बोल्दै पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे। जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए ।
कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यो योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ ओटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुर्याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई दत्त चित्त भई लाग्न अनुरोध गर्नु भयो ।
तालिम विभागका प्रमुख रोजेश बस्नेतले योजना सँग आधारित प्रस्तुति दिएका थिए । उनले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारेका थिए ।