काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले बैंकको आर्थिक वर्ष (आव) २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ वार्षिक आर्थिक विवरण पारित गरेको छ ।
सभाले बैंकका शेयरधनीहरूलाई ३.८०% बोनस शेयर र ६.८५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारण सभाले आव २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभामा पेश गरिएका अन्य प्रस्तावहरूसमेत प्रस्तावबमोजिम पारित/स्वीकृत भएका छन् ।