काठमाडौं । मंगलबार बिहान चीनको सिजाङ प्रान्तस्थित सिगात्सेको दिङ्गीमा गएको ७ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। नेपालसहित छिमेकी देशहरूमा पनि यसको झट्का महसुस गरिएको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले भूकम्पबाट प्रभावितहरूको जीवन जोगाउन र क्षतिलाई कम गर्न उद्धार कार्य तीव्र गतिमा सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले घाइतेहरूको उपचार, थप क्षति रोक्न उपाय, र प्रभावितहरूको पुनर्स्थापना कार्यमा उच्च प्राथमिकता दिन आह्वान गरेका छन्। चिनियाँ सेना उद्धार कार्यमा खटिएको छ।
भूकम्पले दिङ्गी काउन्टीका थुप्रै गाउँमा घरहरू भत्काएको छ भने भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति कटौती भएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प गएको स्थान नजिकैका २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षमा ३ म्याग्निच्युडभन्दा माथिका २९ वटा भूकम्प भएका थिए। यद्यपि, यो भूकम्प सबैभन्दा शक्तिशाली भएको पुष्टि गरिएको छ। रासस/सिन्ह्वा