काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो तथा मानविय क्षति नभएको पाइएको छ । भूकम्पको धक्काबाट नेपालतर्फ ७ ओटा घर तथा कार्यालयमा सामान्य क्षति भएको प्रारम्भिक तथ्यांक छ भने प्रभावित जिल्लामा विवरण संकलन कार्य जारी रहेको प्रमसख जिल्ला अधिकारीहरूले बताएका छन् ।
भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण संकलन कार्य अघि बढाएको छ ।
भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल रहेका छन् । भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताए। क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।
भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईओटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
यस्तै, नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने । यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।” नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिए ।
आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । चीनतर्फ भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। नेपालसहित छिमेकी देशहरूमा पनि यसको झट्का महसुस गरिएको थियो । रासस