काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अवसरमा ‘एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ ।
योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको रकम कनेक्ट आईपीएसमार्फत पठाउने ग्राहकहरूमध्येबाट २ जनालाई ‘लक्की ड्र’मार्फत मोबाइल फोन प्रदान गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले ‘लक्की ड्र’मार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना यही पुस १९ देखि माघ १९ गतेसम्म कायम रहने बैंकले जानकारी दिएको छ ।
यस्तै, मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले ‘लक्की ड्र’मार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूका लागि तेस्रो योजना ल्याइएको छ । योजनाअनुसार यस अवधिमा २०० रुपैयाँसम्मको कारोबार ३ पटक गर्ने मर्चेन्टमध्ये ५ जनाले ‘लक्की ड्र’मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।
यसका साथै मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई ‘लक्की ड्र’मार्फत १ हजार रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
साथै क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूमध्येबाट दैनिक २ जनालाई ‘लक्की ड्र’मार्फत ५०० रुपैयाँका दरले क्यास ब्याक प्रदान गरिने छ । यो योजना पनि पुस २५ गतेसम्मका लागि रहनेछ ।
बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न उक्त योजना ल्याइएको जानकारी दिएको छ ।
बैंकले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि कार्य घरबाटै गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।