काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल तथा पर्यटन समूहका ६ कम्पनीमध्ये तीनओटाले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
ओरियण्टल होटल, सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलले गत आवको मुनाफाबाट लाभाश वितरण गर्ने प्रस्ताव गरेका हुन् । त्यस्तै सिटि होटल, कालिञ्चोक दर्शन र चन्द्रागिरी हिल्सले भने लाभांश नदिने निर्णय गरेका छन् ।
तारागाउँ रिजेन्सी होटलले गत आवको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश करबाहेक वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि होटलले पुस २४ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै सोल्टी होटलले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भइसकेको छ ।
ओरियण्टल होटलले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव साधारण सभाबाट पारित भइसकेको छ ।
होटल तथा पर्यटन समूहका बाँकी चन्द्रागिरी हिल्स, कालिञ्चोक दर्शन र सिटि होटलले भने लाभांश दिएका छैनन् । यीमध्ये कालिञ्चोक दर्शनले हाल कायम चुक्तापूँजीको शत प्रतिशत र सिटि होटलले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका छन् । यी कम्पनीहरूमध्ये चन्द्रागिरी हिल्सको साधारण सभा सम्पन्न भएको छ भने दुई कम्पनीले यही पुस मसान्तभित्रै साधारण सभा गर्दैछन् ।
लाभांश दिएका तीन कम्पनीहरूमध्ये तारागाउँ रिजेन्सी होटलको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ भने सोल्टीको बढेको छ । त्यस्तै ओरियण्टल होटलको लाभांशदर पनि गत वर्षको तुलनामा यस वर्ष केही घटेको छ ।