काठमाडौं । एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीसम्बन्धी वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
एनएमबि बैंकतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र प्रबन्ध निर्देशक सुब्बाले औपचारिक रूपमा सम्झौता पत्र आदानप्रदान गरे।
सम्झौता हस्ताक्षर समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजनालाई निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्न सुझाव दिए । साथै, आयोजना निर्माणका क्रममा प्राविधिक, वातावरणीय तथा सामाजिक पक्षहरूलाई ध्यानमा राखी समाधानसहित अघि बढ्न कम्पनीलाई आग्रह गरे ।
कार्यक्रममा प्रबन्ध निर्देशक सुब्बाले आयोजना तोकिएको समय र लागतभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजना निर्माणमा लगानी गरिसकेको छ ।