काठमाडौं । वाणिज्य बैंकहरूमा लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि पूँजीकोषको दबाबका कारण कर्जा विस्तार क्षमता कमजोर दखिएको छ ।
बैंकहरूको खराब कर्जा वृद्धिसँगै केही बैंकहरूको पूँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम बिन्दुमा झरेको छ । फलस्वरूप बैंकहरू पर्याप्त तरलता भए पनि थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
- राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८१/८२ को चैतसम्मको तथ्यांकअनुसार ५ ओटा बैंकहरू थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा
- वाणिज्य बैंकहरूले जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पूँजीकोष न्यूनतम ८ दशमलव ५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था
राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चैतसम्मको तथ्यांकअनुसार पाँचओटा बैंक थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
चैतमा कुमारी र हिमालयन बैंकको प्राथमिक पूँजीकोष अनुपात राष्ट्र बैंकले तोकेभन्दा तल झरेको छ । प्रभु, माछापुच्छ्रे र सिटिजन्स बैंकको पनि न्यूनतम सीमानजिकै कायम भएको छ ।
राष्ट्र बैंकले जारी गरेको ‘क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ अनुसार वाणिज्य बैंकहरूले जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पूँजीकोष न्यूनतम ८ दशमलव ५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ ।
राष्ट्र बैंकका अनुसार २०८१ चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष अनुपात ९ दशमलव ५२ र कुल पूँजीकोष अनुपात १२ दशमलव ३५ प्रतिशत कायम भएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष अनुपात ९ दशमलव ६९ र कुल पूँजीकोष अनुपात १२ दशमलव ५१ प्रतिशत थियो ।
आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै बैंकहरूको कर्जा असुली कमजोर बनेको छ । जसको कारण खराब कर्जा वृद्धि भई बैंकहरूको पूँजीकोषमा दबाब बढेको हो । २०८१ चैतमा वाणिज्य बैंकहरूको खराब कर्जा ५ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । २०८० चैतमा खराब कर्जाको अनुपात ४ दशमलव ७३ प्रतिशत थियो । २०८१ चैतमा ८ ओटा वाणिज्य बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ ।
तर, बैंकहरूमा निक्षेप वृद्धिका कारण तरलता भने बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ८० प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार अझै ७ खर्बभन्दा बढी कर्जा दिन सक्ने क्षमता छ ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बताउँछन् । अधिक तरलता राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत व्यवस्थापन गर्दै आएको उनले बताए । राष्ट्र बैंकले बैंकहरूलाई पूँजीकोषको दबाब कम गर्न गत आवमा नै अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो । तर, आर्थिक गतिविधिमा शिथिलतासँगै कर्जामा माग नभएपछि बैंकहरूले पूँजी बढाएर कर्जा विस्तारमा चासो देखाएका छैनन् ।