काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा ४ दिनपछि सवारीसाधन सञ्चालन हुने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको हो ।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारीसाधन सञ्चालन गरिने भएको हो । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए । निर्माणमा ढिलाई भएपछि मन्त्री दाहालले फ्लाई ओभरको पटक पटक निरीक्षण र अनुगमन गरेका थिए ।