काठमाडौं । लामिनार टायल्स्ले काठमाडौंको गैरीधारामा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आज एक समारोहबीच उक्त सेन्टरको उद्घाटन गरे ।
उक्त सेन्टर नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्नेका लागि खुला भएको कम्पनीले जनाएको छ ।
सेन्टर सञ्चालनमा आएसँगै नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिन पाइने कम्पनीको भनाइ छ ।
सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गरे ।
सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने विशेषता भएको भिट्रिफाइड टायललाई प्रदर्शनीमा राखिएको कम्पनीले जानकारी दिएको छ ।
‘यो सेन्टर परम्परागत शोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणको रुपमा लिन सकिन्छ,’ लामिनार टायल्स्का अध्यक्ष धितालले भने, ‘हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो ।’
लुम्बिनी सेरामिक्स् लिमिटेडद्वारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ, जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी छ ।