काठमाडौं । काठमाडौंमा आगामी बिहीवार ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम हुने भएको छ ।
नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा महोत्सव गर्न लागिएको हो ।
फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।
यस्तै, डीबीएस बैंकका चिफ इनोभेशन अफिसर नील क्रस, कोटाक महिन्द्रा बैंकका चिफ डिजिटल अफिसर दीपक शर्मा, दि डिजिटल फिप्थका सीईओ समीर सिंह जैनी र ल्यारा नेटवर्कका सीईओ राजेश देखाईं लगायत बैंकिङ र फिनटेक सम्बन्धी अन्तरराष्ट्रिय स्तरका विज्ञहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । साथै, नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता हुने बताइएको छ ।
यो कार्यक्रम नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्त्वपूर्ण कोसेढुंगा हुने बताइएको छ । साथै, डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पु¥याउने अपेक्षा गरिएको काठमाडौं फिनटेकका संस्थापक सञ्जिव सुब्बाले जानकारी दिए ।
फेस्टिभलमा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजक छन् ।